‘राष्ट्रिय एकता’को पक्षमा प्रदर्शन


प्रकाशित मिति : कार्तिक १२, २०७४ आईतबार

स्पेनको राजधानी मड्रिडमा हजारौं मानिसले ‘राष्ट्रिय एकता’को पक्ष र क्याटलोनिया स्वतन्त्रताको विपक्षमा सडक प्रदर्शन गरिरहेका छन्।

स्पेन सरकारले क्याटलोनियामा प्रत्यक्ष शासन गर्ने निर्णयको कार्यान्वयन शुरु गरेसँगै र्याली निस्किएको हो।

गुञ्जिरहेको राष्ट्रिय गीतसँगै प्रदर्शनकारीले स्पेनको झण्डा हल्लाइरहेका छन्।

क्याटलान क्षेत्रका प्रमुख र उपप्रमुख हटाउनुका साथै संसद् भंग गर्दै स्पेन सरकारले त्यहाँको जिम्मेवारी स्पेनकी उपप्रधानमन्त्री सोराया साइन्ज दे सान्तामारियालाई दिएको छ।

प्रतिबद्धता

बर्खास्त गरिएका क्याटलान प्रमुख कार्लेस पुज्डमोनले बार्सिलोनामा क्षेत्रीय शासन सत्ता हातमा लिने राष्ट्रिय सरकारविरुद्ध प्रजातान्त्रिक प्रतिपक्षीको भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।

पुज्डमोनतस्वीर कपीराइटEVN

उनले शान्ति, संयम, दृष्टिकोण र दृढताको खाँचोमा जोड दिएका छन्।

क्याटलोनियाको संसद्ले स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेन सरकारले पुज्डमोन र उनका उपप्रमुखलाई बर्खास्त गर्दै संसद् भंग गरेको छ।

उनले क्याटलोनियाको स्वायत्तता अन्त्य गर्ने उक्त निर्णयको भर्त्सना गर्दै ‘स्वतन्त्र देश बनाउने काम’ निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

मड्रिडले क्याटलोनियामा नयाँ क्षेत्रीय निर्वाचन डिसेम्बर महिनामा गर्ने घोषणा गरेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com