अमेरिकी रक्षा प्रणालीमा ठुलो खर्च: के ‘गोल्डेन डोम’ ले जोगाउला अमेरिकी आकाश ?


प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको “गोल्डेन डोम” क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली निर्माण, सञ्चालन र व्यवस्थापन गर्न करिब १.२ ट्रिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ।

यो अनुमान अमेरिकी गैरदलीय संस्था ‘कंग्रेसनल बजेट अफिस’ ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा गरिएको हो। यो रकम सुरुमा प्रस्ताव गरिएको १७५ अर्ब डलरभन्दा निकै बढी हो।

प्रतिवेदनअनुसार प्रणाली निर्माणका लागि मात्रै १ ट्रिलियन डलरभन्दा बढी खर्च हुनेछ। यसमा क्षेप्यास्त्र अवरोधक तह, अन्तरिक्षमा आधारित चेतावनी तथा निगरानी प्रणालीजस्ता प्रविधि समावेश छन्।

“गोल्डेन डोम” परियोजना सम्पूर्ण अमेरिकालाई समेट्ने गरी बनाइने योजना हो। यसले ब्यालेस्टिक तथा क्रुज क्षेप्यास्त्रसहित विभिन्न हवाई खतराबाट अमेरिकालाई जोगाउने उद्देश्य राख्छ।

गत जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएलगत्तै ट्रम्पले “नयाँ पुस्ताका” हवाई खतराको सामना गर्न सक्ने प्रतिरक्षा प्रणालीको योजना सार्वजनिक गरेका थिए। उनले यस परियोजनाका लागि प्रारम्भिक रूपमा २५ बिलियन डलर लगानी आवश्यक पर्ने र दीर्घकालीन कुल लागत १७५ बिलियन डलर पुग्ने बताएका थिए।

तर डेमोक्रेटिक सिनेटर जेफ मार्कलेले यो योजना रक्षा कम्पनीहरूलाई फाइदा पुर्‍याउने कार्यक्रम भएको आरोप लगाएका छन्। उनले भने, “राष्ट्रपतिको ‘गोल्डेन डोम’ भन्नु अमेरिकी श्रमिकहरूको पैसाबाट रक्षा ठेकेदारहरूलाई ठूलो उपहार दिनु मात्र हो।”

विशाल भूभाग भएको अमेरिकाका लागि यस्तो व्यापक प्रतिरक्षा प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने वा नसकिने विषयमा पनि शंका व्यक्त गरिएको छ। अधिकारीहरूले हालका प्रतिरक्षा प्रणालीहरू सम्भावित प्रतिद्वन्द्वी राष्ट्रसँग भएका अत्याधुनिक हतियारको गति अनुसार विकास हुन नसकेको भन्दै चेतावनी दिँदै आएका छन्।

नयाँ प्रतिवेदनले विशेष गरी रुस वा चीनबाट हुने ठूलो स्तरको आक्रमणका बेला यो प्रणाली अत्यधिक दबाबमा पर्न सक्ने उल्लेख गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरुमा “आइरन डोम फर अमेरिका” नाम दिइएको यो परियोजनासम्बन्धी कार्यकारी आदेशमा नयाँ पुस्ताका हतियारको खतरा समयसँगै अझ जटिल र गम्भीर बन्दै गएको उल्लेख गरिएको थियो।

ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएको एक सातापछि रक्षा मन्त्रालयलाई हवाई आक्रमण रोक्न र प्रतिरक्षा गर्न सक्ने प्रणालीको योजना पेस गर्न निर्देशन दिएका थिए। त्यतिबेला ह्वाइट हाउसले हवाई आक्रमणलाई अमेरिकामाथिको सबैभन्दा विनाशकारी खतरा भनेको थियो।

ट्रम्पका अनुसार यो प्रणाली भूमि, समुद्र र अन्तरिक्षमा आधारित नयाँ पुस्ताका प्रविधिमा आधारित हुनेछ। यसमा अन्तरिक्षमा रहने संवेदक र अवरोधक प्रणाली पनि समावेश हुनेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com