इरान युद्धसम्बन्धी सूचना चुहाउनेको खोजी गर्न ट्रम्पको आदेश
प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार
फोटो : एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धसम्बन्धी गोप्य सूचना चुहाउने व्यक्तिहरूको खोजी गर्न आदेश दिएका छन्। उनले न्याय मन्त्रालयलाई यस विषयमा कडा निर्देशन दिएको बताइएको छ।
गोप्य सूचना बाहिरिएपछि यसबारे समाचार प्रकाशित भएको थियो। पत्रकारलाई यस्ता सूचना दिनेहरूको पहिचान आवश्यक रहेको ट्रम्पको भनाइ छ। अधिकारीहरूका अनुसार ट्रम्पले इरान युद्धसम्बन्धी समाचार लेख्ने पत्रकारहरूमाथि समेत कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए।
यसैबीच, न्याय मन्त्रालयले ‘द वाल स्ट्रिट जर्नल’ लाई पत्र पठाएको छ, जसले यो अनुसन्धानबारे पहिलो पटक समाचार सार्वजनिक गरेको थियो। एक अधिकारीका अनुसार न्याय मन्त्रालयको राष्ट्रिय सुरक्षा विभागले पहिले नै केही समाचारका स्रोतहरूबारे अनुसन्धानको तयारी गरिरहेको थियो। तर, ट्रम्पको हस्तक्षेपपछि यो प्रक्रियालाई थप तीव्र बनाइएको छ।
अनुसन्धानको मुख्य उद्देश्य सरकारी गोप्य सूचना चुहाउने कर्मचारीहरूको पहिचान गर्नु हो। प्रशासनले यसको उद्देश्य पत्रकारहरूलाई लक्षित गर्नु नभएको दाबी गरेको छ। यद्यपि, यी कानुनी आदेशहरूलाई राष्ट्रिय सुरक्षा र प्रशासनसम्बन्धी सूचना चुहावट रोक्न ट्रम्प प्रशासनले चालेको अहिलेसम्मकै सबैभन्दा आक्रामक कदममध्ये एक मानिएको छ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालदेखि नै गोप्य सूचनाहरू पत्रकारसम्म पुग्ने गरेको विषयमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्। विशेष गरी इरान युद्धसम्बन्धी निजी टिप्पणी वा गोप्य बैठकका विवरणहरू सार्वजनिक हुँदा उनी निकै क्रोधित हुने गरेको स्रोतहरूले बताएका छन्।
यस विषयमा ह्वाइट हाउस र न्याय मन्त्रालयले तत्काल कुनै आधिकारिक प्रतिक्रिया भने दिएका छैनन्। गत महिना ट्रम्पले एकजना पत्रकारलाई जेल पठाउने धम्कीसमेत दिएका थिए। सो घटना इरानमा बेपत्ता भएका एक अमेरिकी वायुसेना अधिकारीसम्बन्धी समाचार चुहावटसँग सम्बन्धित थियो, जसलाई पछि अमेरिकी सेनाले उद्धार गरेको थियो। प्रशासनका अनुसार उद्धार अभियान चलिरहेकै समयमा समाचार सार्वजनिक हुँदा ती अधिकारीको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको थियो।





