अमेरिकाको मियामीमा पर्यटकीय डुङ्गा विष्फोट: ११ जना गम्भीर घाइते


प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार

अमेरिकाको साउथ फ्लोरिडास्थित मियामी सहरमा एक डुङ्गामा शंकास्पद विष्फोट हुँदा ११ जना घाइते भएका छन्। घटनालगत्तै अमेरिकी सुरक्षा निकायहरूले यसबारे अनुसन्धान सुरु गरेका छन्।

मियामीका अग्नि नियन्त्रण प्रमुख हुआन एरियासका अनुसार, पर्यटकीय क्षेत्रमा विष्फोट भएको सूचना प्राप्त भएलगत्तै उद्धारकर्मीहरू घटनास्थल पुगेका थिए।

एरियासले ११ जनालाई शरीर जलेको तथा गम्भीर चोट लागेको अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिएका छन्।

अधिकारीहरूले विष्फोटको वास्तविक कारण हालसम्म सार्वजनिक गरेका छैनन्। घटनाका प्रत्यक्षदर्शी तथा स्थानीय डुङ्गा सेवा सञ्चालक प्याट्रिक लीका अनुसार, विष्फोटको प्रभावले तीन जना मानिस डुङ्गाबाट उछिट्टिएर बाहिर खसेका थिए।

विष्फोट आकस्मिक भएको र उच्च प्रज्वलनशील इन्धनका कारण धेरै मानिस जलेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। ‘हउलभर स्यान्डबार’ स्वच्छ र कम गहिराइ भएको पानीका कारण मियामीको लोकप्रिय पर्यटकीय गन्तव्य मानिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com