ट्रम्पको अग्निपरीक्षा: नोभेम्बरको चुनाव र बदलिँदो जनमत, डेमोक्र्याट आशावादी
प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पप्रतिको जनसमर्थन घट्दै गएको संकेत देखिन थालेको छ। सन् २०२४ को निर्वाचनमा ट्रम्पलाई दोस्रो कार्यकाल दिलाउन सहयोग गरेको राजनीतिक गठबन्धन अहिले कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।
पहिले बाराक ओबामालाई समर्थन गरेर पछि ट्रम्पतर्फ फर्किएको आयोवा राज्यको लुइसा काउन्टी अहिले फेरि राजनीतिक असन्तुष्टिको केन्द्र बनेको छ। स्थानीय बासिन्दाहरूले ट्रम्पले चुनावअघि गरेका आर्थिक सुधार र स्वास्थ्य सेवासम्बन्धी वाचाहरू पूरा नभएको गुनासो गर्न थालेका छन्।
कोलम्बस जंक्सन क्षेत्रका आप्रवासी समुदायमा डरको वातावरण बढेको बताइएको छ। ट्रम्प प्रशासनले आप्रवासीविरुद्ध कडा नीति लागू गरेपछि विदेशी मूलका मानिसहरू त्रसित बनेका छन्।
स्थानीय सामुदायिक अभियन्ता अरासेली भास्केज–रामिरेजले छालाको रङ्गका आधारमा समेत मानिसहरूलाई लक्षित गरिएको आरोप लगाइन्। उनले भनिन्, “ट्रम्पलाई समर्थन गरेका धेरै मानिस अहिले पछुतो मानिरहेका छन्, किनकि वर्तमान अवस्था उनीहरूले सोचेभन्दा फरक छ।”
हालैका विभिन्न सर्वेक्षणहरूले ट्रम्पको लोकप्रियता लगातार घटिरहेको देखाएका छन्। विशेषगरी अर्थतन्त्र, महँगी र आप्रवासन नीतिमा जनअसन्तुष्टि चुलिएको छ। विश्लेषकहरूका अनुसार, ट्रम्प प्रशासनले इरानविरुद्ध इजरायलसँग मिलेर थालेको सैन्य अभियानले विश्वव्यापी तेल संकट निम्त्याएको छ, जसका कारण अमेरिकामा इन्धनको मूल्य वृद्धि भएको छ।
केन्टकीका ट्रम्प समर्थक जोन जोन्सनले भने, “इन्धनको मूल्य वृद्धिले सबैलाई असर गरेको छ। अहिले दैनिक खर्च धान्न गाह्रो भइरहेको छ।” त्यस्तै, जर्जियाकी डेमोक्र्याट समर्थक लेशान्ते वेडले पनि जीवनयापन महँगिएको र देशमा राजनीतिक तनाव बढेको बताइन्।
यद्यपि, केही रिपब्लिकन समर्थकहरू अझै पनि ट्रम्पप्रति प्रतिबद्ध देखिन्छन्। उनीहरू ट्रम्पले आफ्नो वाचा अनुसार नै काम गरिरहेको दाबी गर्छन्।
यसैबीच, आगामी नोभेम्बर ३ मा हुने मध्यावधि चुनावलाई ट्रम्पको दोस्रो कार्यकालको महत्त्वपूर्ण परीक्षा मानिएको छ। डेमोक्र्याटिक पार्टीले प्रतिनिधिसभामा पुनः बहुमत हासिल गर्ने आशा गरेको छ भने रिपब्लिकनहरू आफ्नो प्रभाव कायम राख्न प्रयासरत छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, ट्रम्पप्रतिको बढ्दो असन्तुष्टिले अमेरिकी राजनीतिमा ठूलो फेरबदल ल्याउन सक्छ, जसको लाभ डेमोक्र्याट पक्षलाई पुग्ने सम्भावना बलियो देखिएको छ।





