ट्रम्पको मध्यस्थतामा रुस र युक्रेनबीच तीनदिने युद्धविराम, दुई हजार युद्धबन्दी साटासाट गरिने


प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार

फोटो: एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा तीनदिने युद्धविरामको घोषणा गरेका छन्। यसअघि दुवै देशले ‘विजय दिवस’ का अवसरमा छुट्टाछुट्टै युद्धविराम घोषणा गरेका थिए, तर एकअर्कालाई उल्लंघनको आरोप लगाइरहेका थिए।

ट्रम्पले भने, “यो युद्धविराममा सबै प्रकारका सैन्य गतिविधि रोकिनेछन् र दुवै पक्षले एक–एक हजार युद्धबन्दी साटासाट गर्नेछन्।” उनले आफूले व्यक्तिगत रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग यो प्रस्तावका लागि आग्रह गरेको बताएका छन्।

केही समयपछि जेलेन्स्कीले युक्रेन युद्धविराममा सहभागी हुने पुष्टि गरे भने रुसी सरकारी सञ्चारमाध्यमहरूले पनि रुसले प्रस्ताव स्वीकार गरेको जनाएका छन्।

यसअघि दुवै देशले एकअर्कालाई युद्धविराम उल्लंघन गर्दै आक्रमण जारी राखेको आरोप लगाएका थिए। पुटिनले मे ८ र ९ का लागि विजय दिवस समारोहलाई लक्षित गर्दै युद्धविराम घोषणा गरेका थिए। युक्रेनले भने मे ६ देखि अनिश्चितकालीन युद्धविरामको प्रस्ताव अघि सारेको थियो।

रुसले मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस परेडमा आक्रमण नगर्न युक्रेनलाई चेतावनी दिएको छ। रुसी रक्षा मन्त्रालयले यदि मस्कोमाथि आक्रमण भएमा किभको केन्द्रमा “ठूलो प्रतिकारात्मक क्षेप्यास्त्र प्रहार” गरिने चेतावनी दिएको छ। साथै, विदेशी कूटनीतिज्ञहरूलाई मे ९ अघि नै किभ छोड्न सुझाव दिइएको छ।

लगभग दुई दशकपछि पहिलो पटक विजय दिवस परेडमा भारी सैन्य उपकरणहरू प्रदर्शन नगरिने भएको छ। सुरक्षा जोखिमका कारण मस्कोलाई उच्च सतर्कतामा राखिएको छ। मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाका लागि मोबाइल दूरसञ्चार सेवा सीमित गरिने जानकारी पनि दिइएको छ।

यसपटकको परेडमा बेलारुस, मलेसिया र लाओसका नेतासहित केही सीमित विदेशी पाहुनाहरू मात्र सहभागी हुनेछन्।

अमेरिकाले रुस र युक्रेनबीच वार्ताको मध्यस्थता गरिरहेको भए पनि हालसम्म कुनै ठोस प्रगति भएको छैन। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका अझै मध्यस्थताका लागि तयार भए पनि प्रगति नभएमा समय खेर नफाल्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com