राष्ट्रपति ट्रम्पलाई झट्का: विश्वव्यापी १० प्रतिशत आयात शुल्क अदालतद्वारा खारेज
प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका सामग्रीहरूमा लगाएको १० प्रतिशत अतिरिक्त आयात शुल्क (कर) मा रोक लागेको छ। अमेरिकी संघीय अदालतले उक्त अतिरिक्त आयात करलाई अवैध ठहर गर्दै खारेज गरिदिएको हो।
अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले गत फेब्रुअरी २४ मा लगाइएको १० प्रतिशतको विश्वव्यापी आयात शुल्कलाई कानुनी रूपमा अनुचित ठहर गर्दै रोक लगाएको हो। अदालतको न्यायाधीशहरूको प्यानलले २–१ को बहुमतले यो शुल्कलाई अवैध ठहर गर्ने फैसला सुनाएको हो।
न्यायाधीशहरूको प्यानलले प्रशासनसँग सन् १९७४ को व्यापार कानुनको ‘सेक्सन १२२’ अन्तर्गत ती भन्सार शुल्क लगाउने पर्याप्त कानुनी आधार नभएको ठहर गरेको छ। अदालतको यो निर्णय यस वर्ष ट्रम्पको प्रमुख आर्थिक नीतिमा लागेको दोस्रो ठूलो झट्का हो। सर्वोच्च अदालतले ट्रम्पको अघिल्लो व्यापक शुल्क नीतिलाई खारेज गरेपछि उनले यो नयाँ १० प्रतिशत शुल्क लगाएका थिए।
ट्रम्पले भुक्तानी सन्तुलन मिलाउन यो शुल्क लगाएको दाबी गर्दै आएका छन्, तर अदालतले उक्त कानुन यस्तो अवस्थामा प्रयोग गर्न नमिल्ने ठहर गरेको छ। यो फैसलासँगै अब अमेरिकी न्याय मन्त्रालयले यसविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको छ। तर, तत्कालका लागि ट्रम्पको यो ट्यारिफ अर्थात् अतिरिक्त शुल्क योजनामा भने रोक लागेको छ।
यस विषयमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफ्नो प्रशासनले “अर्को तरिकाले काम गर्ने” बताएका छन्। उनले भने, “अदालतका कुनै पनि निर्णयले मलाई आश्चर्यमा पार्दैन। हामी सधैं अर्को तरिकाले काम गर्छौं। एउटा निर्णय आउँछ, हामी अर्को तरिकाले अघि बढ्छौं।”
यी कानुनी विवादहरूले ट्रम्पको आर्थिक नीतिमा देखिएको अस्थिरता र अनिश्चिततालाई उजागर गरेका छन्। अमेरिकाका २४ वटा राज्य र धेरै साना व्यवसायीहरूले यो शुल्कविरुद्ध मुद्दा दायर गरेका थिए। उनीहरूले ट्रम्पले सर्वोच्च अदालतको अघिल्लो आदेशलाई छल्नका लागि यो कदम चालेको दाबी गरेका थिए।
‘सेक्सन १२२’ अनुसार निश्चित अवस्था पूरा भएमा राष्ट्रपतिले कंग्रेसको अनुमतिविना सबै आयातमा अधिकतम १५ प्रतिशतसम्म भन्सार शुल्क लगाउन सक्छन्। तर, यस मुद्दामा न्यायाधीशहरूले प्रशासनले प्रस्तुत गरेको आधारलाई अपर्याप्त ठहर गरेका छन्।





