अमेरिकी स्याटलाइट चित्रको विश्लेषण: युक्रेन युद्धमा २,३०० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिए
प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार
युक्रेनविरुद्ध रुसको तर्फबाट लड्न पठाइएका २ हजार ३०० भन्दा बढी उत्तर कोरियाली सैनिक मारिएको तथ्य बाहिर आएको छ। प्योङयाङमा हालै निर्माण गरिएको नयाँ स्मारकका आधिकारिक तस्बिर र उपग्रह (स्याटेलाइट) चित्रहरूको विश्लेषणपछि यो तथ्याङ्क सार्वजनिक भएको हो।
दक्षिण कोरियाका अनुसार, कम्तीमा ११ हजार उत्तर कोरियाली सैनिकलाई रुसको पश्चिमी क्षेत्र कुर्स्कमा तैनाथ गरिएको थियो। सन् २०२४ को अगस्टमा युक्रेनले कुर्स्कमा अप्रत्याशित आक्रमण गरेपछि रुसी नियन्त्रण पुनःस्थापित गर्न ती सैनिकहरूको प्रयोग गरिएको थियो।
उत्तर कोरियाली नेता किम जोङ उनले यसअघि नै युद्धमा मारिएका सैनिकप्रति सार्वजनिक रूपमा श्रद्धाञ्जली व्यक्त गरिसकेका छन्। त्यसको बदलामा रुसले उत्तर कोरियालाई खाद्यान्न, आर्थिक सहयोग तथा उन्नत सैन्य प्राविधिक सहायता उपलब्ध गराएको विश्वास गरिन्छ। उत्तर कोरियाले कुर्स्क अभियानमा आफ्ना कति सैनिक मारिए भन्ने आधिकारिक विवरण गोप्य राखे पनि प्योङयाङको नयाँ स्मारकले यसबारे ठोस सङ्केत दिएको हो।
सन् २०२५ को अक्टोबरमा किम जोङ उनले प्योङयाङको ह्वासोङ क्षेत्रमा रुस–युक्रेन युद्धमा मारिएका सैनिकहरूको सम्मानमा एउटा सङ्ग्रहालय निर्माण गर्न आदेश दिएका थिए। अमेरिकी उपग्रह चित्र कम्पनी ‘प्लानेट ल्याब्स’ ले उपलब्ध गराएको तस्बिरअनुसार सोही महिनादेखि निर्माण कार्य सुरु भएको देखिन्छ। डिसेम्बरसम्म भवनको आधारभूत संरचना तयार भई मार्चसम्म बाहिरी निर्माण कार्य सम्पन्न भएको थियो।
गत अप्रिल २६ मा उद्घाटन गरिएको “विदेशी सैन्य अभियानमा युद्ध उपलब्धि स्मारक सङ्ग्रहालय” ले कुर्स्क क्षेत्र “मुक्त” गराउने क्रममा उत्तर कोरियाली सैनिकले देखाएको “अतुलनीय साहस” झल्काउने उद्देश्य राखेको छ। सो स्मारकमा दुईवटा ३० मिटर लामा पर्खाल, एउटा मुख्य भवन र समाधिस्थल समावेश छन्।
प्रत्येक पर्खाललाई ९ वटा खण्डमा विभाजन गरी सैनिकहरूको नाम कुँदिएको छ। प्रत्येक खण्डमा करिब १६ वटा लहर र हरेक लहरमा ८ जनाको नाम रहेको अनुमान गरिएको छ। यस आधारमा एउटा पर्खालमा १,१५२ र दुवै पर्खालमा गरी कुल २,३०४ जना सैनिकको नाम रहेको निष्कर्ष निकालिएको हो।
यसअघि दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर सेवाले सन् २०२५ सेप्टेम्बरमा करिब २ हजार उत्तर कोरियाली सैनिक मारिएको र २,७०० घाइते भएको जनाएको थियो। तर, यसै वर्षको फेब्रुअरीमा उक्त निकायले तथ्याङ्क अद्यावधिक गर्दै रुस पठाइएका ११ हजार सैनिकमध्ये करिब ६ हजार मारिएको वा घाइते भएको दाबी गरेको छ।
विशेषज्ञ चो हान–बुमका अनुसार, ठूलो सङ्ख्यामा जनशक्ति क्षति भएपछि उत्तर कोरियाले आफ्नो सैन्य अभियानलाई न्यायोचित ठहर्याउन यो स्मारक निर्माण गरेको हो। विश्लेषकहरूका अनुसार यो स्मारकले भविष्यमा पनि उत्तर कोरिया र रुसबीचको सैन्य साझेदारी अझै मजबुत रहने सङ्केत गर्दछ।





