एपस्टिनको ‘सुसाइड नोट’ अमेरिकी अदालतको आदेशपछि सार्वजनिक


प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार

यौन अपराधमा दोषी ठहर भएका जेफ्री एपस्टिनले मृत्यु हुनुभन्दा एक महिनाअघि लेखेको भनिएको ‘सुसाइड नोट’ सार्वजनिक गर्न अमेरिकी अदालतले आदेश दिएको छ। अदालतको आदेशसँगै उनको हस्तलिखित नोट पनि सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको उक्त नोटमा महिनौँसम्मको अनुसन्धानले “केही पनि फेला नपारेको” उल्लेख छ। साथै, नोटमा “बिदाइको समय आफैँ रोज्न पाउनु विशेष कुरा हो” भन्ने वाक्य समेत लेखिएको छ। जम्मा सात लाइनको मात्र रहेको यस नोटको वास्तविक अर्थ र सन्दर्भबारे भने अझै अन्योल कायम छ।

एपस्टिनका पूर्व जेल-सहबन्दी निकोलस टार्टाग्लियोनले जुलाई २०१९ मा एपस्टिनको पहिलो आत्महत्या प्रयासपछि एउटा पुस्तकभित्र उक्त नोट भेटिएको दाबी गरेका छन्। त्यसको एक महिनापछि एपस्टिन आफ्नै जेल कोठामा मृत फेला परेका थिए।

यौन तस्करीसम्बन्धी मुद्दाको सुनुवाइ कुरिरहेका बेला एपस्टिनको मृत्यु भएको थियो। अमेरिकी अधिकारीहरूले उनको मृत्युको कारण आत्महत्या भएको निष्कर्ष निकालेका थिए।

उक्त नोट हालसम्म निकोलस टार्टाग्लियोनसँग सम्बन्धित फौजदारी मुद्दाका कारण गोप्य राखिएको थियो। टार्टाग्लियोन चार जनाको हत्या अभियोगमा मुद्दा खेपिरहेका पूर्व प्रहरी अधिकारी हुन्।

कुनै समय एपस्टिनले टार्टाग्लियोनमाथि आफूलाई आक्रमण गरेको आरोप लगाएका थिए, जसलाई टार्टाग्लियोनले अस्वीकार गर्दै आएका छन्। उनले गत वर्ष एक पोडकास्टमा पहिलो पटक यस नोटबारे सार्वजनिक रूपमा खुलासा गरेका थिए।

अमेरिकी न्याय मन्त्रालयले यसबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि मन्त्रालयका एक प्रवक्ताले उक्त नोट नदेखेको बताएका थिए। ती प्रवक्ताका अनुसार पछिल्ला महिनाहरूमा एपस्टिनसँग सम्बन्धित लाखौँ फाइलहरू सङ्कलन गरी सार्वजनिक गर्ने प्रयास भइरहेको छ।

नोटका साथै सन् २०२१ मा टार्टाग्लियोनका पूर्व वकिल जोन ए. विडरले अदालतमा बुझाएको पत्र पनि संलग्न गरिएको छ, जसमा उनले उक्त नोटलाई “मूल दस्तावेज” भनेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एपस्टिनको मृत्यु भएको रात जेलको सुरक्षा व्यवस्थामा कमजोरी रहेको सङ्घीय प्रतिवेदनले देखाएको थियो। सोही कारण उनको मृत्युबारे अझै पनि विभिन्न अड्कलबाजी र आशङ्काहरू भइरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com