अमेरिकाको १४ बुँदे शान्ति प्रस्ताव अध्ययन गर्दै इरान, सम्झौता नभए तीव्र बमबारी गर्ने ट्रम्पको चेतावनी
प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार
फोटो : एपी/रासस
अमेरिकाले पठाएको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अझै अध्ययनकै क्रममा रहेको इरानले जनाएको छ। ह्वाइट हाउसले भने इरानसँग १४ बुँदे समझदारीको नजिक पुगेको दाबी गरेको छ।
इरानी संसद्का एक वरिष्ठ सदस्यले उक्त प्रस्तावलाई “इच्छासूची मात्र” भन्दै अस्वीकार गरेका छन्। विदेश मन्त्रालयका प्रवक्ताले इरानले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाउने बताएका छन्। पाकिस्तानका विदेशमन्त्रीले आफ्नो देश “यो युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्ने प्रयासमा” रहेको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो २४ घण्टामा इरानसँग “धेरै राम्रो वार्ता” भएको र सम्झौता सम्भव रहेको बताएका छन्। प्रस्तावित समझदारीपत्रमा इरानको युरेनियम संवर्द्धन रोक्ने, इरानमाथिका प्रतिबन्ध हटाउने तथा हर्मुज जलमार्ग हुँदै जहाजहरूको स्वतन्त्र आवतजावत पुनः सञ्चालन गर्ने विषय समावेश रहेको बताइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार तीमध्ये धेरै प्रावधान अन्तिम सम्झौता भएपछि मात्र लागू हुनेछन्। अमेरिकी–इरानी मध्यस्थताबारे जानकारी राख्ने स्रोतहरूले उक्त विवरण पुष्टि गरेका छन्, यद्यपि प्रस्ताव भने सार्वजनिक गरिएको छैन।
इरानी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी प्रस्ताव अझै अध्ययनकै क्रममा रहेको बताउँदै निष्कर्षपछि पाकिस्तानलाई आफ्नो धारणा जानकारी गराइने उल्लेख गरे। इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ताले अमेरिकाले प्रत्यक्ष वार्ताबाट प्राप्त गर्न नसकेको कुरा “हारिरहेको युद्धबाट प्राप्त गर्न नसक्ने” दाबी गरे।
राष्ट्रपति ट्रम्पले इरानले सम्झौता नगरे “पहिलाभन्दा अझ तीव्र बमबारी सुरु हुने” चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत “इरानले सहमति जनाएका विषयहरू लागू भएपछि मात्रै प्रारम्भिक सैन्य अभियान समाप्त हुने” बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुवियोले भने उक्त सैन्य अभियानले आफ्नो उद्देश्य पूरा गरिसकेको बताएका थिए। अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यदेखि इरानमाथि आक्रमण सुरु गरेपछि इरानले हर्मुज जलमार्ग अवरुद्ध गर्दै आएको छ।





