एक्टन र रामास्वामीबीच ओहायोमा गभर्नरका लागि रोचक चुनावी प्रतिस्पर्धा हुने
प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार
अमेरिकाको ओहायो राज्यको गभर्नर पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट विवेक रामास्वामी उम्मेदवार बन्ने तय भएको छ। प्राइमरी चुनावमा विजयी भएसँगै रिपब्लिकन पार्टीको तर्फबाट उनको उम्मेदवारी निश्चित भएको हो।
राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगीका रूपमा चिनिने रामास्वामी अब गभर्नर पदका लागि मुख्य प्रतिस्पर्धामा उत्रिनेछन्। चुनावी नतिजाअनुसार उनले मोटरगाडी डिजाइनर तथा युट्युब सामग्री निर्माता केसी पुट्शलाई पराजित गरेका हुन्।
स्वास्थ्य–प्रविधि उद्यमी रामास्वामीले सन् २०२४ को राष्ट्रपति चुनावमा ट्रम्पविरुद्ध उम्मेदवारी दिएका थिए। तर, सफलता नमिलेपछि उनले ट्रम्पलाई नै समर्थन गरेका थिए।
ओहायोको प्राथमिक चुनावमा आफ्नै पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहँदा पनि उनले डेमोक्रेटिक उम्मेदवार एमी एक्टनलाई आफ्नो मुख्य निसाना बनाएका थिए। एक्टन ओहायोकी पूर्व सार्वजनिक स्वास्थ्य निर्देशक हुन्, जसले कोरोना महामारीको समयमा राज्यको स्वास्थ्य प्रतिकार्यको नेतृत्व गरेकी थिइन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत रामास्वामीको प्रशंसा गर्दै उनलाई युवा, बलियो र बुद्धिमान नेता बताएका छन्। उपराष्ट्रपति जेडी भान्सले पनि सिन्सिनाटी पुगेर रामास्वामीको पक्षमा मतदान गरेका थिए।
पछिल्ला वर्षहरूमा ओहायो राज्य रिपब्लिकनतर्फ झुकेको देखिन्छ। भान्स उपराष्ट्रपति बनेपछि पार्टीभित्रको संरचनामा आएको परिवर्तनले पनि रामास्वामीलाई फाइदा पुगेको छ।
रामास्वामी सन् २०२३ मा सामाजिक सञ्जाल र पोडकास्टमार्फत चर्चामा आएका थिए। सन् २०२४ को रिपब्लिकन बहसहरूमा उनको आक्रामक शैलीले ध्यान खिचे पनि मतदाताबाट अपेक्षित समर्थन नपाएपछि उनले सुरुवातमै उम्मेदवारी फिर्ता लिएका थिए। पछि उनी ट्रम्पका प्रमुख प्रचारक बने र सरकारी कार्यक्षमता सुधार गर्ने विभाग स्थापनाको प्रयासमा संलग्न भए, जसको नेतृत्व पछि एलन मस्कसँगै उनलाई पनि दिइएको थियो।
ओहायो गभर्नरको दौडमा उनले धेरै प्रतिस्पर्धीलाई पराजित गर्दै आफ्नो स्थान बलियो बनाएका हुन्। चुनावी अभियानका लागि उनले करिब २५ मिलियन डलर ऋणस्वरूप लगानी गरेका छन्। अब उनको विजयसँगै कोरोना महामारीपछि उत्पन्न राजनीतिक प्रभाव मुख्य चुनावी मुद्दा बन्ने देखिएको छ।
एक्टनले महामारीका बेला महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। त्यस समयमा ओहायोले अन्य रिपब्लिकन राज्यहरूको तुलनामा मध्यम नीति अपनाएको थियो, जसमा रेस्टुरेन्ट बन्द गर्ने र चुनाव स्थगित गर्ने निर्णयहरू समावेश थिए। तर, मास्क अनिवार्य गर्ने नियम र विद्यालय बन्द गर्ने निर्णयप्रति देखिएको असन्तुष्टिले अहिले रिपब्लिकनहरूलाई एक्टनमाथि आक्रमण गर्ने अवसर दिएको छ।
रामास्वामीले हालै सार्वजनिक गरेको विज्ञापनमा एक्टनले अदालतको आदेशको अवज्ञा गर्दै चुनाव स्थगित गरेको आरोप लगाएका छन्।
तर, वर्तमान गभर्नर डिवाईनले उक्त आरोप अस्वीकार गर्दै त्यो निर्णय आफूले गरेको बताएका छन्। नोभेम्बरमा हुने आम चुनाव नजिकिँदै जाँदा यो प्रतिस्पर्धा अझ कडा र खर्चिलो हुने अपेक्षा गरिएको छ।





