अमेरिकामा ठूलो विमान दुर्घटना टर्यो: २३१ यात्रु सुरक्षित, ट्रक चालक घाइते
प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार
अमेरिकाको न्यु जर्सी राज्यस्थित नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान ट्रकसँग ठोक्किएको छ। उक्त दुर्घटनामा ट्रक चालक घाइते भएका छन्। अवतरणका क्रममा रहेको विमान सडकबत्ती र गुडिरहेको ट्रकमा ठोक्न पुगेको थियो।
इटालीको भेनिसबाट उडान भरेको युनाइटेड एयरलाइन्सको बोइङ ७६७ विमान उक्त अवरोधका बाबजुद सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ। विमानमा सवार २३१ जना यात्रु तथा चालक दलका सबै सदस्य सुरक्षित रहेका छन्।
दुर्घटनाको प्रकृति हेर्दा विमानको एउटा टायर ट्रकको अगाडिको सिसा (विन्डस्क्रिन) फुटाएर भित्र पसेको देखिएको छ। ट्रकमा जडान गरिएको क्यामेराको फुटेजमा विमान तल उडिरहेको आवाज सुनिन्छ र ठोक्किनेबित्तिकै सिसाका टुक्राहरू चारैतिर उछिट्टिएको देखिन्छ। सोही सिसाका टुक्राहरू लागेर चालकको हात र बाहुलामा चोट लागेको हो।
विमानस्थलको धावनमार्ग नजिकैको सडकमा ट्रक गुडिरहेका बेला विमान निकै तल आएपछि यो दुर्लभ दुर्घटना हुन पुगेको हो।
युनाइटेड एयरलाइन्सले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र सो प्रक्रिया पूरा नभएसम्मका लागि सम्बन्धित चालक दललाई अस्थायी रूपमा सेवाबाट हटाइएको जनाएको छ। प्राविधिक टोलीले विमानमा भएको क्षतिको समेत मूल्याङ्कन गरिरहेको बताइएको छ।
न्यु जर्सीकी गभर्नर मिकी शेरिलले विमान सुरक्षित अवतरण भएको र मानवीय क्षति नभएकोमा खुसी व्यक्त गरेकी छन्।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड ले घटनाको विस्तृत अनुसन्धानका लागि विशेषज्ञहरू पठाएको छ। बोर्डले युनाइटेड एयरलाइन्सलाई ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर उपलब्ध गराउन निर्देशन दिएको छ।





