ट्रम्पमाथि भएको हत्या प्रयासबारे अझै अन्योल: भिडियो फुटेज र सरकारी दाबीबीच बाझियो तथ्य
प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक साताअघि भएको हत्या प्रयासका तथ्यहरू अझै स्पष्ट हुन नसकेको अधिकारीहरूले बताएका छन्।
वासिङ्टनस्थित एक होटलमा आयोजित कार्यक्रमका क्रममा भएको गोलीकाण्डबारे अनुसन्धान जारी रहे पनि संदिग्धले अमेरिकी ‘सेक्रेट सर्भिस’ का अधिकारीलाई गोली हानेका हुन् वा होइनन् भन्ने विषयमा सरकारी धारणा स्पष्ट रूपमा बाहिर आइसकेको छैन।
घटनापछि राष्ट्रपति ट्रम्पसहित उच्च अधिकारीहरूले सुरक्षा जाँच बिन्दुमा आक्रमण हुँदा एक सुरक्षा अधिकारीलाई गोली लागेको बताएका थिए। बुलेटप्रुफ ज्याकेटका कारण ती अधिकारीको ज्यान जोगिएको बताइएको थियो। तर, अदालतमा दायर गरिएका कागजातहरूमा भने ती अधिकारीलाई कसले गोली हानेको हो भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छैन।
अधिकारीहरूका अनुसार, घटनाका क्रममा सुरक्षा अधिकारीले पनि संदिग्धमाथि पाँच पटक गोली चलाएका थिए, तर ती गोली उनलाई लागेका थिएनन्। घटनामा संलग्न रहेको आरोपमा ३१ वर्षीय कोल थोमस एलेनलाई पक्राउ गरिएको छ। उनीसँग अर्ध-स्वचालित पेस्तोल, पम्प-एक्सन बन्दुक र तीनवटा चक्कु फेला परेको जनाइएको छ।
अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरूले सुरुमा संदिग्धले सुरक्षा अधिकारीलाई गोली हानेको बताएका थिए। तर, पछि उनीहरूले यसबारे अनुसन्धान जारी रहेको र कुनै ठोस निष्कर्षमा नपुगेको स्पष्ट पारेका छन्।
सरकारले दायर गरेको मुद्दामा संदिग्ध व्यक्ति बन्दुक बोकेर सुरक्षा जाँच पार गर्दै दौडिएको र त्यस क्रममा गोली चलेको उल्लेख छ। एक सुरक्षा अधिकारीको छातीमा गोली लागेको उल्लेख गरिए पनि त्यो गोली कसले चलायो भन्ने कुरा स्पष्ट पारिएको छैन।
यसैबीच, संदिग्धका कानुनी प्रतिनिधिहरूले सरकारको आरोपमा अस्पष्टता रहेको भन्दै आपत्ति जनाएका छन्। सार्वजनिक गरिएको भिडियो फुटेजमा संदिग्ध व्यक्ति सुरक्षा जाँच क्षेत्र हुँदै दौडिएको र एक सुरक्षा अधिकारीले पनि गोली चलाएको देखिन्छ, तर उक्त भिडियोबाट कुनै स्पष्ट निष्कर्ष निकाल्न सकिएको छैन।
अधिकारीहरूले हालसम्म प्राप्त प्रमाणका आधारमा संदिग्धले नजिकबाट गोली चलाएको दाबी गरेका छन्। घटनामा प्रयोग भएको गोलीको अंश सुरक्षा अधिकारीको ज्याकेटमा फेला परेको पनि जनाइएको छ।
हाल लगाइएका अभियोगहरूकै आधारमा दोषी ठहर भए संदिग्धलाई लामो समयसम्म कैद सजाय हुन सक्ने विश्लेषकहरूले बताएका छन्।





