न्यूयोर्कका पूर्व मेयर जुलियानी गम्भीर बिरामी
प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार
अमेरिकाको न्यूयोर्क सहरका पूर्व मेयर रुडी जुलियानी गम्भीर बिरामी भएका छन्। अस्पतालमा भर्ना भएका उनको अवस्था “स्थिर तर गम्भीर” रहेको उनका प्रवक्ताले जानकारी दिएका हुन्।
प्रवक्ता टेड गुडम्यानले सामाजिक सञ्जालमार्फत जुलियानीको स्वास्थ्य अवस्थाबारे जानकारी सार्वजनिक गरेका हुन्। उनले स्वास्थ्यसम्बन्धी थप विवरण भने खुलाएका छैनन्।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै जुलियानीको प्रशंसा गरेका छन्। उनले जुलियानीलाई “साँचो योद्धा” र “न्यूयोर्क सहरको इतिहासकै उत्कृष्ट मेयर” भनेर उल्लेख गरेका छन्।
ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनपछि जुलियानीले आफ्नो पक्षमा गरेको प्रयासको पनि प्रशंसा गरेका छन्। सो समयमा जुलियानीले चुनावी नतिजाबारे विभिन्न दाबीहरू गरेका थिए।
जुलियानी सन् २००१ को सेप्टेम्बर ११ को आतङ्ककारी आक्रमणपछि न्यूयोर्क सहरको कुशल नेतृत्व गरेका कारण “अमेरिकाको मेयर” भनेर चिनिन्छन्। यसअघि, एक अदालतले जुलियानीलाई चुनावी धाँधलीको झूटो आरोप लगाएको ठहर गर्दै दुई जना निर्वाचन कर्मचारीलाई १४८ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दिएको थियो।
प्रवक्ता गुडम्यानले जुलियानीले जीवनका हरेक चुनौतीको सामना दृढताका साथ गर्दै आएको र अहिले पनि त्यही सङ्घर्ष गरिरहेको बताएका छन्। गत वर्ष सेप्टेम्बरमा अमेरिकाको न्यू ह्याम्पशायर राज्यमा भएको सवारी दुर्घटनामा जुलियानी घाइते भएका थिए। उक्त दुर्घटनामा उनको छाती लगायत शरीरका विभिन्न अङ्गहरूमा चोट लागेको थियो।





