ट्रम्पलाई रिपब्लिकन सांसदको चुनौती: जर्मनीबाट सेना फिर्ता बोलाउने निर्णय अमेरिकाकै हितविपरीत


प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार

फोटो : एएफपी/रासस

जर्मनीबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको सत्तारुढ रिपब्लिकन दलकै सांसदहरूले विरोध गरेका छन्। अमेरिकी सत्तारूढ दलका दुई वरिष्ठ सांसदले सेना हटाउने निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै युरोपमा बलियो सैन्य उपस्थिति कायम राख्नु अमेरिकाकै हितमा हुने बताएका हुन्।

हाल जर्मनीमा ३६ हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन्, जुन युरोपमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य उपस्थिति हो। यसको तुलनामा इटालीमा करिब १२ हजार र बेलायतमा १० हजार अमेरिकी सैनिक तैनाथ रहेका छन्। जर्मनीमा रहेका सैनिकमध्येबाट करिब ५ हजार सेना फिर्ता बोलाउने तयारी अमेरिकाले गरिरहेको छ।

अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार यो निर्णय रक्षा मन्त्रीको निर्देशनमा गरिएको हो। सैनिक फिर्ता गर्ने प्रक्रिया ६ देखि १२ महिनाभित्र पूरा हुने बताइएको छ। यो कदम जर्मन चान्सलरले इरानसँग जारी वार्तामा अमेरिका “अपमानित” भएको भन्दै आलोचना गरेपछि आएको हो।

जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले यसबारे अमेरिकासँग थप स्पष्टता खोजिरहेको जनाएका छन्। उनले जर्मनीमा अमेरिकी सैनिकको उपस्थिति जर्मनी र अमेरिका दुवैको हितमा रहेको बताए। यसैबीच, नेटोकी प्रवक्ता एलिसन हर्टले गठबन्धनले अमेरिकासँग मिलेर यस निर्णयको विस्तृत विवरण बुझ्ने प्रयास गरिरहेको बताएकी छन्।

गत वर्ष अमेरिकाले आफ्नो सैन्य ध्यान युरोपबाट इन्डो–प्यासिफिक क्षेत्रमा केन्द्रित गर्ने योजनाअनुसार रोमानियामा पनि सैनिक संख्या घटाउने निर्णय गरेको थियो। यस निर्णयले ३२ सदस्यीय नेटो गठबन्धनभित्र चिन्ता बढाएको छ।

जर्मनीका रक्षा मन्त्रीले युरोपले आफ्नो सुरक्षाको जिम्मेवारी अब अझ बढी लिनुपर्ने बताउँदै जर्मनीले पछिल्ला वर्षहरूमा रक्षा बजेट उल्लेखनीय रूपमा बढाएको जानकारी दिएका छन्।

पहिले अमेरिकाले जर्मनीलाई नेटोको लक्ष्यअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २ प्रतिशत रक्षा खर्च पूरा नगरेको भन्दै आलोचना गरेको थियो। तर, अहिले जर्मनीले रक्षा खर्च उल्लेख्य रूपमा बढाउने योजना बनाएको छ, जुन आगामी वर्षहरूमा ३ प्रतिशतभन्दा माथि पुग्ने अनुमान गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com