ट्रम्पको गम्भीर आरोप: इरानसँगको युद्धमा प्रश्न उठाउनेहरू देशद्रोही सरह
प्रकाशित मिति : १८ बैशाख २०८३, शुक्रबार
फोटो : एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विरुद्ध अभिव्यक्ति दिनेहरूलाई देशद्रोहीको आरोप लगाएका छन्। उनले युद्धमा अमेरिकाले “जितिरहेको छैन” भन्ने अभिव्यक्ति दिनेहरूलाई “देशद्रोही” सरह मान्ने बताएका हुन्।
उनले यसअघि कंग्रेसलाई युद्धजन्य गतिविधि “समाप्त भइसकेको” जानकारी दिएका थिए। फ्लोरिडाको ‘द भिलेजेस’ मा बोल्दै ट्रम्पले कट्टर वामपन्थीहरूले मात्रै अमेरिकाले इरानसँगको युद्ध जितिरहेको छैन भनेर भनिरहेको दाबी गरे। उनले इरानसँग अब कुनै सैन्य शक्ति बाँकी नरहेको भन्दै हारको कुरा गर्नु वास्तवमै देशद्रोह भएको बताए।
उनले जनवरीमा भेनेजुएलामा गरिएको अमेरिकी सैन्य कारबाहीलाई “इतिहासकै उत्कृष्ट सैन्य कदममध्ये एक” भन्दै इरानसँगको अवस्थासँग तुलना गरे।
तर, उनले इरानमाथिको पूर्ण विजयबारे अहिले नै बोल्न नचाहेको बताए। ट्रम्पले अमेरिका इरानविरुद्ध सफल भइरहेको दाबी गर्दै इरानको नौसेना नष्ट गरिएको र अमेरिकी नाकाबन्दी प्रभावकारी भएको बताएका छन्।
यद्यपि, इरानको अझै पनि होर्मुज जलमार्गमा प्रभाव कायम रहेको बताइएको छ। यसैबीच, अमेरिकी नौसेनाले इरानसँग सम्बन्धित ह्याकिङ समूहले अमेरिकी ‘मरीन कोर्प्स’ का सदस्यहरू, सर्वसाधारण कर्मचारीहरू र उनीहरूको परिवारलाई धम्कीपूर्ण सन्देश पठाएको जनाएको छ।
अमेरिकी नौसेना आपराधिक अनुसन्धान सेवाका अनुसार ती सन्देशहरू “अप्रमाणित” भए पनि डर फैलाउने उद्देश्यले पठाइएका हुन सक्छन्। उक्त इरानी समूहले मध्यपूर्वमा तैनाथ अमेरिकी मरीनहरूको व्यक्तिगत सम्पर्क विवरण चुहाएको दाबी समेत गरेको छ।
अधिकारीहरूका अनुसार यस्ता साइबर धम्कीहरू प्रायः मनोवैज्ञानिक दबाब सिर्जना गर्न प्रयोग गरिन्छन् र यसले वास्तविक भौतिक आक्रमणको संकेत नगर्न सक्छ। यसअघि अमेरिकी नौसेना प्रमुखले पनि सैन्य कर्मचारीहरूलाई अनलाइन सुरक्षा कडा बनाउन निर्देशन दिएका थिए।





