छठको मुख्य दिन
प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

मिथिलाञ्चलको महान् पर्व छठको मुख्य दिन बिहीबार जनकपुरसहित तराई मधेस र राजधानी काठमाडौं सहित देशैभर धुमधामका साथ मनाइदैछ। छठको तेस्रो तथा मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिने गरिन्छ। छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ। आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ।
पर्वको मुख्य दिन साँझमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती, ढकिया, फलफूल लागयतको सामगी्रहरु उदाउदो सुर्यलाई पायक पर्ने जलाशयमा गई चढाइन्छ। प्रसादको रुपमा भुसुवा, ठकुवा, खाजा, उखु, हल्दी, अदुवा सहित विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई अर्घ चढाइन्छ।