ट्रम्पको दबाबका बीच फेडरल रिजर्भको निर्णय: पावेलद्वारा ब्याजदर नघटाउने घोषणा
प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार
अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ। फेडका अध्यक्ष जेरोम पावेलका उत्तराधिकारीका रूपमा प्रस्तावित केभिन वार्सले सिनेटको महत्त्वपूर्ण समितिबाट समर्थन पाएको केही घण्टामै पावेलले ब्याजदर साढे तीन प्रतिशतदेखि तीन दशमलव ७५ प्रतिशतको दायरामै रहने घोषणा गरेका हुन्।
यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार ब्याजदर घटाउन दबाब दिँदै आएका बेला आएको हो। ट्रम्पले आफ्नो कार्यकालभर पावेलको आलोचना गर्दै आएका थिए। वार्शले भने पद सम्हाल्दा केन्द्रीय बैंकको स्वतन्त्रता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।
इरानसँगको युद्धका कारण उत्पन्न आर्थिक अनिश्चिततालाई ध्यानमा राख्दै फेडले “पर्ख र हेर” को नीति अपनाएको छ। यस द्वन्द्वका कारण ऊर्जाको मूल्य बढेको छ, जसले पेट्रोल तथा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत महँगो बनाएको छ।
यस अवस्थालाई मध्यनजर गर्दै फेडले युद्ध कति समयसम्म चल्छ र यसको असर कति गम्भीर हुन्छ भन्ने स्पष्ट नहुँदासम्म ब्याजदर नबढाउने वा नघटाउने निर्णय गरेको हो।
मार्च महिनामा मुद्रास्फीति बढेर तीन दशमलव तीन प्रतिशत पुगेपछि तत्काल ब्याजदर घट्ने आशा कम भएको छ। यद्यपि आगामी बैठकमा दर घटाउने संकेत दिइएको छ। तर केही अर्थशास्त्रीहरूले तेलको मूल्य बढिरहेमा ब्याजदर कटौती सन् २०२७ सम्म ढिलाइ हुन सक्ने बताएका छन्।
पावेलको केन्द्रीय बैंकको गभर्नरको कार्यकाल भने सन् २०२८ सम्म रहन्छ। उनले आफूमाथि र बैंकमाथि भइरहेको अनुसन्धान पूर्ण रूपमा समाप्त नभएसम्म पद नछोड्ने बताएका छन्।
पावेलले ट्रम्प प्रशासनबाट आएका कानुनी चुनौतीहरू गम्भीर भएको बताएका छन्। उनका अनुसार यस्ता कदमहरूले केन्द्रीय बैंकको स्वतन्त्र रूपमा मौद्रिक नीति सञ्चालन गर्ने क्षमतामा असर पार्न सक्छ।
अमेरिकी न्याय मन्त्रालयले पावेलमाथिको अनुसन्धान अन्त्य गरेपछि रिपब्लिकन सिनेटर थोम टिलिसले वार्शको नियुक्तिमा रहेको अवरोध हटाएका छन्।
अब वार्शको नियुक्ति पूर्ण सिनेटबाट अनुमोदन हुन बाँकी छ। तर सिनेटमा रिपब्लिकनहरूको बहुमत भएकाले यो प्रक्रिया औपचारिकता मात्र मानिएको छ।





