मेलानिया ट्रम्पमाथि मजाक गरेको आरोपमा एबीसी टेलिभिजनमाथि ट्रम्प प्रशासनको कडा कदम
प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार
अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई लक्षित गरी मजाक उडाएको कार्यक्रम प्रसारण गरेपछि ट्रम्प प्रशासनले टेलिभिजन कम्पनीमाथि कारबाहीको प्रक्रिया अघि बढाएको छ।
अमेरिकाको संघीय सञ्चार आयोग (एफसीसी) ले वाल्ट डिज्नी कम्पनीअन्तर्गत रहेका टेलिभिजन प्रसारण अनुमतिपत्रहरूको (लाइसेन्स) निर्धारित समयभन्दा अगाडि नै पुनरावलोकन गर्ने आदेश दिएको हो। यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले लेट-नाइट कार्यक्रम प्रस्तोता जिमी किमेललाई हटाउन आग्रह गरेपछि आएको हो।
ट्रम्पले डिज्नीको स्वामित्वमा रहेको एबीसी नेटवर्कलाई किमेलको कार्यक्रम बन्द गर्न दबाब दिएका थिए। किमेलले मेलानिया ट्रम्पलाई “अपेक्षित विधवा” जस्तो देखिएको भन्दै व्यङ्ग्य गरेका थिए। उक्त टिप्पणी ट्रम्प दम्पती सहभागी भएको एक कार्यक्रममा गोली चल्नुभन्दा केही दिनअघि गरिएको थियो।
एफसीसीले डिज्नीका विषयमा एबीसी स्टेशनहरूमा ‘गैरकानुनी भेदभाव’ सम्बन्धी अनुसन्धान भइरहेको जनाएको छ। आयोगले कम्पनीलाई ३० दिनभित्र आफ्ना सबै टेलिभिजन स्टेशनहरूको अनुमतिपत्र नवीकरणका लागि आवेदन दिन निर्देशन दिएको छ, जबकि ती अनुमतिपत्रहरूको अवधि सन् २०२८ सम्म कायमै छ।
डिज्नीका प्रवक्ताले एबीसी र यसका स्टेशनहरूले एफसीसीका नियमहरूको पूर्ण पालना गर्दै स्थानीय समुदायलाई सेवा दिइरहेको बताएका छन्। उनका अनुसार कम्पनी सधैँजस्तै स्थानीय दर्शकहरूको हितमा केन्द्रित छ।
पुनरावलोकन प्रक्रियामा कम्पनीले ‘सार्वजनिक हितका मापदण्ड’ पूरा गरेको प्रमाणित गर्नुपर्ने हुन्छ। यद्यपि, विगत ४० वर्षदेखि एफसीसीले कुनै पनि टेलिभिजन स्टेशनको अनुमतिपत्र खारेज गरेको छैन।
एफसीसीकी डेमोक्रेटिक आयुक्त आना एम. गोमेजले यस कदमलाई “राजनीतिक प्रदर्शन” भन्दै आलोचना गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “यो अभूतपूर्व, गैरकानुनी र असफल हुने निश्चित छ। कम्पनीहरूले यसलाई सिधै चुनौती दिनुपर्छ; अभिव्यक्ति स्वतन्त्रता उनीहरूको पक्षमा छ।”
यसैबीच, ह्वाइट हाउसले एबीसीमाथि किमेललाई हटाउन दबाब जारी राखेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन च्युङले किमेललाई “जीवनभर बहिष्कार गर्नुपर्ने” बताएका छन्।
आफ्नो कार्यक्रममा किमेलले टिप्पणीको बचाउ गर्दै भने, “यो केवल हल्का ठट्टा थियो, हत्या गर्न उक्साउने कुरा थिएन।” उनले आफू लामो समयदेखि विशेषगरी बन्दूक हिंसाविरुद्ध बोल्दै आएको समेत बताएका छन्।
शनिबार राति वासिङ्टनस्थित एक कार्यक्रममा ट्रम्प दम्पती सहभागी भइरहेका बेला एक व्यक्तिले गोली चलाएपछि उनीहरूलाई सुरक्षित स्थानमा लगिएको थियो। ३१ वर्षीय संदिग्धलाई पक्राउ गरी राष्ट्रपतिको हत्या प्रयासको आरोप लगाइएको छ।
विज्ञहरूका अनुसार डिज्नीले आफ्नो अनुमतिपत्र गुमाउने सम्भावना अत्यन्त न्यून छ। सन् १९३४ मा स्थापना भएको एफसीसीले रेडियो र टेलिभिजन प्रसारण नियमन गर्ने जिम्मेवारी पाएको छ।
ट्रम्पले यसअघि पनि आफूविरुद्ध नकारात्मक समाचार प्रसारण गर्ने मिडियाको अनुमतिपत्र खोस्ने धम्की दिँदै आएका थिए।





