अमेरिकामा पीएचडी अध्ययनरत बङ्गलादेशी विद्यार्थीको बीभत्स हत्या: रुममेट पक्राउ


प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार

अमेरिकामा विद्यावारिधि (पीएचडी) अध्ययनरत एक बङ्गलादेशी विद्यार्थीको हत्या उनकै ‘रुममेट’ (कोठामा सँगै बस्ने साथी) ले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले पुष्टि गरेको छ। साउथ फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत २७ वर्षीय जामिल लिमोनको “धारिलो हतियारले पटक–पटक प्रहार गरी” हत्या गरिएको थियो।

फ्लोरिडामा भएको यस हत्या प्रकरणमा अभियोजन पक्षले नयाँ प्रमाणहरू सार्वजनिक गरेको छ। टाम्पा बे क्षेत्रमा रहेको ‘हावर्ड फ्रान्कल्यान्ड’ पुलमा मृत अवस्थामा भेटिएका लिमोनको शरीरमा गम्भीर घाउहरू पाइएको र ढाडमा लागेको गहिरो चोट कलेजोसम्म पुगेको जनाइएको छ।

लिमोनसँगै हराइरहेकी उनकी साथी २७ वर्षीया नाहिदा ब्रिष्टी अझै बेपत्ता छिन्। अधिकारीहरूका अनुसार उनलाई पनि लिमोनलाई जस्तै गरी हत्या गरिएको आशङ्का गरिएको छ। यस घटनामा लिमोनका रुममेट २६ वर्षीय हिशाम अबुघार्बियेहलाई दुवै जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।

अभियोजन पक्षले अपराधको प्रकृति अत्यन्त क्रूर र समाजका लागि खतरनाक भएको भन्दै मुद्दाको सुनुवाइ नसकिएसम्म उनलाई हिरासतमा राख्न माग गरेको छ। अदालतमा दायर निवेदनमा भनिएको छ, “आरोपितले गरेको हिंसात्मक र क्रूर कार्यले गर्दा उनलाई रिहा गर्दा समुदायको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने देखिन्छ।”

लिमोनको शव हावर्ड फ्रान्कल्यान्ड पुलमा फेला परेको थियो भने ब्रिष्टीको शव पनि सोही क्षेत्रमा फालिएको हुन सक्ने अनुमान गरिएको छ। आइतबार प्रहरीले पुल नजिकैको जलक्षेत्रबाट मानव अवशेष फेला पारेको जनाएको छ, तर त्यसको पहिचान हुन अझै बाँकी छ।

अनुसन्धानका क्रममा ब्रिष्टीको परिवारलाई सम्पर्क गरी उनको मृत्यु भएको हुन सक्ने जानकारी दिइएको छ। अभियुक्त बस्ने अपार्टमेन्टमा ठूलो मात्रामा रगत फेला परेको अधिकारीहरूले जनाएका छन्। अदालतको कागजात अनुसार, लिमोन र ब्रिष्टीलाई अप्रिल १६ मा अन्तिम पटक विश्वविद्यालय परिसर वरिपरि देखिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com