शिक्षण पेसादेखि बन्दुकसम्म: को हुन् ट्रम्पलाई निशाना बनाउने ३१ वर्षीय एलन ?
प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार
अमेरिकी अधिकारीहरूले एक सम्मानित शिक्षक कसरी आक्रमणकारी बन्ने अवस्थामा पुगे भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्। ह्वाइट हाउस संवाददाता संघको रात्रिभोज कार्यक्रममा भएको गोलीकाण्डको भोलिपल्ट अधिकारीहरूले संदिग्धले पठाएका सन्देशहरूको विस्तृत अध्ययन थालेका हुन्।
सामान्य जीवन बिताइरहेका क्यालिफोर्नियाका शिक्षक कसरी सम्भावित हत्यारा बन्न पुगे भन्नेमा अनुसन्धान केन्द्रित गरिएको छ। प्रहरीका अनुसार ३१ वर्षीय कोल टोमस एलनले आक्रमणअघि आफ्नो परिवारलाई पठाएको सन्देशमा लेखेका छन्, “मैले दुरुपयोग गरेको विश्वासप्रति माफी चाहन्छु।”
आक्रमणअघि परिवारलाई पठाइएको उक्त सन्देशपछि उनका आफन्तहरूले प्रहरीलाई जानकारी गराएका थिए। त्यसलगत्तै सुरक्षा निकायहरू सक्रिय भएका थिए। हाल क्यालिफोर्नियास्थित उनको घरमा समेत खानतलासी र अनुसन्धान जारी छ भने सुरक्षा सतर्कता बढाइएको छ।
उनले प्रशासनका अधिकारीहरूलाई लक्षित गर्ने उद्देश्य रहेको जनाउँदै आफ्नो राजनीतिक असन्तुष्टि समेत व्यक्त गरेका थिए। साथै, आफूले कुनै माफीको अपेक्षा नगरेको पनि उल्लेख गरेका छन्।
ह्वाइट हाउसका अनुसार एलन पछिल्ला वर्षहरूमा राजनीतिक गतिविधिमा सक्रिय हुँदै कट्टर अभिव्यक्ति दिन थालेका थिए। उनले हतियार खरिद गरी नियमित रूपमा ‘फायरिङ’ अभ्यास गर्ने गरेको उनकी दिदीले प्रहरीलाई जानकारी दिएकी छन्।
अनुसन्धानबाट एलनले लस एन्जलसबाट रेलमार्ग हुँदै शिकागो र त्यसपछि वाशिङ्टन डीसीसम्म यात्रा गरेको खुलेको छ। त्यहाँ पुगेपछि उनले कार्यक्रम आयोजना भएकै होटलमा बसोबास गरेका थिए।
अधिकारीहरूका अनुसार उनीसँग .३८ क्यालिबरको अर्ध-स्वचालित पेस्तोल र १२ गेजको बन्दुक थियो। आक्रमणअघि उनले आफूलाई “फ्रेन्डली फेडरल असासिन” भन्दै सन्देश पठाएका थिए, जसमा ट्रम्प प्रशासनप्रति आक्रोश व्यक्त गरिएको थियो।
घटनाका क्रममा उनले केही राउन्ड गोली चलाएका थिए, जसमा बुलेटप्रुफ ज्याकेट लगाएका एक ‘सिक्रेट सर्भिस’ अधिकारी घाइते भएका छन्। एलनलाई तुरुन्तै नियन्त्रणमा लिइएको थियो। कार्यवाहक महान्यायाधिवक्ताका अनुसार प्रारम्भिक अनुसन्धानले प्रशासनका अधिकारीहरू नै निशानामा परेको संकेत गरेको छ, यद्यपि संदिग्धले अनुसन्धानमा सहयोग गरेका छैनन्।
सन्देशमा उनले विभिन्न गुनासाहरू उल्लेख गरेका छन्। बन्दी शिविरहरूको अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले डोनाल्ड ट्रम्पलाई ‘देशद्रोही’ को रूपमा चित्रण गरेको पाइएको छ।
एलनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी बाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए। उनी विद्यार्थी जीवनमा विभिन्न गतिविधिमा संलग्न थिए भने पछि अंशकालिक शिक्षकका रूपमा कार्यरत थिए। उनलाई सन् २०२४ मा “महिनाको उत्कृष्ट शिक्षक” समेत घोषणा गरिएको थियो।
यसका साथै उनी भिडियो गेम विकासमा पनि संलग्न थिए। घटनामा प्रयोग गरिएका हतियारहरू कानुनी रूपमा आवश्यक पृष्ठभूमि जाँच पछि मात्र खरिद गरिएको अधिकारीहरूले बताएका छन्। हाल संघीय अनुसन्धान निकायहरू एलनको गतिविधि, उद्देश्य र सम्भावित प्रेरणाबारे थप गहन अनुसन्धानमा जुटेका छन्।





