राष्ट्रपति पद ‘अत्यन्त जोखिमपूर्ण’ भएको ट्रम्पको टिप्पणी, सुरक्षा कमजोरीको चौतर्फी आलोचना


प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले सम्हालिरहेको राष्ट्रपति पद अत्यन्त जोखिमपूर्ण रहेको बताएका छन्। वाशिङ्टन डीसीमा आयोजित ‘ह्वाइट हाउस संवाददाता संघ’को रात्रिभोज कार्यक्रममा गोली चलेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

विश्वकै कडा सुरक्षा घेराभित्र रहने व्यक्तिमध्ये एक मानिने अमेरिकी राष्ट्रपतिलाई सुरक्षित राख्नु चुनौतीपूर्ण बन्दै गएको देखिएको छ।

सन् २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार हुँदा गोली उनको कानको नजिकैबाट गएको थियो। त्यसको केही समयपछि फ्लोरिडास्थित उनको गल्फ मैदानमा पनि अर्को आक्रमणको प्रयास भएको थियो।

यसैक्रममा, शनिबार राति वाशिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा गोली चलेपछि फेरि उनको सुरक्षामाथि प्रश्न उठेको छ। उक्त कार्यक्रममा उच्च तहका राजनीतिज्ञ, कूटनीतिज्ञ तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।

३१ वर्षीय कोल टोमस एलन नामक संदिग्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको उद्देश्य र लक्ष्यबारे अनुसन्धान जारी रहेको जनाइएको छ। प्रारम्भिक रूपमा प्रशासनका उच्च अधिकारीहरू नै निशानामा परेको आशंका गरिएको छ।

कार्यक्रम स्थलको सुरक्षा व्यवस्थामाथि पनि आलोचना भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार होटल बाहिर सुरक्षा कडा भए तापनि भित्रको जाँच प्रक्रिया फितलो देखिएको थियो। कार्यक्रममा प्रवेश गर्दा पाहुनाहरूको पहिचान समेत जाँच नगरिएको बताइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका सिसिटिभी दृश्यहरूमा संदिग्ध व्यक्ति सुरक्षा जाँच बिन्दु पार गर्दै अघि बढेको देखिन्छ। त्यसपछि सुरक्षाकर्मीहरूले गोली चलाएर उनलाई नियन्त्रणमा लिएका थिए। उनीबाट बन्दुक र धारिलो हतियार समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनापछि राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति र अन्य उच्च अधिकारीहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सारिएको थियो। बलरुमभित्र भने कडा सुरक्षा व्यवस्था रहेको र सुरक्षाकर्मीहरूले तत्काल प्रतिक्रिया दिएको बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुरक्षा विज्ञहरूले संदिग्ध व्यक्ति मुख्य कार्यक्रम स्थलभित्र प्रवेश गर्न नसक्नुले सुरक्षा संयन्त्रले काम गरेको पुष्टि हुने बताएका छन्। तर, समग्र सुरक्षा प्रबन्धमा सुधार आवश्यक रहेको उनीहरूको भनाइ छ।

हालका वर्षहरूमा अमेरिकामा राजनीतिक हिंसाका घटनाहरू बढ्दै गइरहेको तथ्यांकले देखाउँछ। यस घटनाले पनि सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको संकेत गरेको विश्लेषकहरूको ठहर छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com