मेक्सिकोमा सीआईएका दुई एजेन्टको मृत्यु, विना अनुमति कारबाहीमा संलग्न रहेको खुलासा


प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार

अमेरिकाको प्रमुख गुप्तचर निकाय सीआईए का दुई सदस्यको मेक्सिकोमा भएको एक दुर्घटनामा मृत्यु भएको छ। उनीहरूले उत्तरी चिहुआहुआ राज्यमा एउटा शंकास्पद लागुऔषध उत्पादन केन्द्रमाथि गरिएको कारबाहीमा सहभागिता जनाएका थिए।

त्यहाँबाट फर्किने क्रममा उनीहरू सवार सवारी साधन पहाडी सडकबाट खसेर विस्फोट हुँदा उनीहरूको मृत्यु भएको हो।

मेक्सिकोको सुरक्षा मन्त्रालयका अनुसार, एक एजेन्ट पर्यटकका रूपमा मेक्सिको प्रवेश गरेका थिए भने अर्काले कूटनीतिक राहदानी (पासपोर्ट) प्रयोग गरेका थिए। मेक्सिकोको प्रचलित कानुनअनुसार, संघीय सरकारको पूर्व स्वीकृतिविना विदेशी एजेन्टहरू कुनै पनि गतिविधिमा संलग्न हुन पाउँदैनन्।

मेक्सिको सरकारले दुर्घटनामा ज्यान गुमाएका ती दुई अमेरिकी एजेन्टहरूलाई देशभित्र कुनै पनि गतिविधि सञ्चालन गर्न आधिकारिक अनुमति नदिइएको स्पष्ट पारेको छ।

राष्ट्रपति क्लाउडिया शेनबाउमको निर्देशनमा गरिएको अनुसन्धानपछि सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, ती दुवै एजेन्टसँग सञ्चालनात्मक गतिविधिमा सहभागी हुन आवश्यक औपचारिक मान्यता थिएन।

संघीय निकायलाई उनीहरूको उपस्थितिबारे समेत कुनै जानकारी नदिइएको जनाइएको छ। यो घटना मेक्सिको र अमेरिकाबीच लागुऔषध नियन्त्रण लगायतका विषयमा देखिँदै आएको संवेदनशील सम्बन्धका बीच भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागुऔषध तस्करी नियन्त्रणमा कडा कदम चाल्न मेक्सिकोमाथि दबाब बढाउँदै आएका छन्। यद्यपि, राष्ट्रपति शेनबाउमले विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दै आएकी छन्।

उनले मेक्सिकोको सार्वभौमिकता कायम राख्नुपर्नेमा जोड दिँदै विदेशी अधिकारीहरूले देशभित्र काम गर्न अनिवार्य रूपमा सरकारी स्वीकृति लिनुपर्ने अडान दोहोर्‍याएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेक्सिको सरकारले पछिल्ला दिनहरूमा लागुऔषध तस्करीविरुद्ध कडा अभियान सञ्चालन गरिरहेको छ। यस अभियानलाई अमेरिकी दबाब कम गर्ने प्रयासका रूपमा समेत हेरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com