फ्लोरिडामा हराइरहेका पीएचडी विद्यार्थी मृत भेटिए, प्रेमिका अझै बेपत्ता
प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार
अमेरिकामा विद्यावारिधि (पीएचडी) गरिरहेका एक विद्यार्थी मृत फेला परेका छन्। साउथ फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत ती विद्यार्थी टाम्पा बे क्षेत्रको एक पुलमा मृत अवस्थामा फेला परेका हुन्। घटनापछि उनीसँगै एउटै कोठामा बस्ने साथीलाई पक्राउ गरिएको हिल्सबरो काउन्टी शेरिफ कार्यालयले जनाएको छ।
बंगलादेशका दुई विद्यार्थी जमिल लिमोन र नाहिदा ब्रिष्टी गत हप्तादेखि हराइरहेका थिए। लिमोनको शव हावर्ड फ्रान्कल्यान्ड पुलमा फेला परेको हो भने ब्रिष्टी अझै बेपत्ता छिन्। शेरिफ च्याड क्रोनिस्टरले यसलाई अत्यन्तै चिन्ताजनक घटना भनेका छन्।
लिमोनका ‘रुममेट’ हिसाम अबुघार्बिएहलाई घरेलु हिंसासम्बन्धी उजुरीपछि उनकै घरबाट पक्राउ गरिएको उप-शेरिफ कार्यालयका प्रमुख जोसेफ माउररले जानकारी दिए।
२६ वर्षीय अबुघार्बिएह सोही विश्वविद्यालयका पूर्वविद्यार्थी हुन्। उनले अहिले कुटपिट, गैरकानुनी रूपमा बन्धक बनाएको, प्रमाण नष्ट गरेको, मृत्युको सूचना नदिएको र शव अवैध रूपमा सारेको जस्ता अभियोगहरू सामना गरिरहेका छन्।
२७ वर्षका लिमोन र ब्रिष्टी अप्रिल १७ देखि हराएको भन्दै एक पारिवारिक साथीले प्रहरीलाई जानकारी दिएका थिए। उनीहरूलाई त्यसको अघिल्लो दिन क्याम्पस वरपर अन्तिम पटक देखिएको थियो। लिमोनको मृत्युको कारणबारे अहिले चिकित्सकीय परीक्षण (पोस्टमार्टम) भइरहेको छ, जसको प्रतिवेदन यसै साताको अन्त्यसम्ममा आउन सक्ने बताइएको छ।
पक्राउ पर्नुअघि पनि अबुघार्बिएहलाई प्रहरीले कम्तीमा दुई पटक सोधपुछ गरेको थियो। सुरुमा सहयोग गरे पनि पछि उनले आनाकानी गर्न थालेका थिए। यद्यपि, अनुसन्धानकर्ताहरूले उनलाई घटनासँग जोड्ने ठोस प्रमाण फेला पारेका छन्। सन् २०२३ मा पनि उनी दुई पटक कुटपिटको आरोपमा पक्राउ परेका थिए, तर पछि ती मुद्दाहरू खारेज भएका थिए।
यता, लिमोनका दाजु जुबाएर अहमदले परिवार अत्यन्त पीडामा रहेको बताएका छन्। लिमोन अप्रिल १६ को बिहान आफ्नो घरमा अन्तिम पटक देखिएका थिए। उनी भूगोल, वातावरण विज्ञान र नीति विषयमा अध्ययनरत थिए। ब्रिष्टी त्यसको करिब एक घण्टापछि क्याम्पसको विज्ञान भवनमा देखिएकी थिइन्। उनी रासायनिक इन्जिनियरिङ पढ्दै थिइन्।
लिमोनले आफ्नो परिवारसँग ब्रिष्टीका बारेमा सकारात्मक कुरा गर्ने गरेका थिए र उनीसँग विवाह गर्ने सम्भावनाबारे समेत छलफल भएको थियो। उनी कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी सिमसार क्षेत्र घट्दै गएको विषयमा अनुसन्धान गरिरहेका थिए। उनका दाजुका अनुसार विद्यावारिधि पूरा गरेपछि उनी बंगलादेश फर्केर विश्वविद्यालयमा प्राध्यापक बन्ने योजनामा थिए।





