एआईका कारण प्रविधि क्षेत्रमा संकट: मेटा र माइक्रोसफ्टले हजारौँ कर्मचारी हटाउँदै
प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार
मेटा र माइक्रोसफ्टले हजारौँ कर्मचारी कटौती गर्ने भएका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) मा ठूलो लगानी गर्दै मेटा र माइक्रोसफ्टले यस्तो निर्णय गरेका हुन्।
कम्पनीका उच्च अधिकारीहरूका अनुसार एआईले कामको उत्पादकत्व बढाएकाले मानव श्रमको आवश्यकता घट्दै गएको भन्दै हजारौँ कर्मचारी कटौती गर्ने घोषणा गरिएको हो।
मेटाले आफ्ना कर्मचारीहरूलाई जानकारी दिँदै आगामी मे २० सम्ममा करिब १० प्रतिशत अर्थात् झन्डै आठ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। करिब छ हजार खुला पदहरू पनि बन्द गरिने मेटाले बताएको छ।
माइक्रोसफ्टले पनि आफ्ना करिब एक लाख पच्चीस हजार अमेरिकी कर्मचारीमध्ये झन्डै सात प्रतिशतलाई स्वेच्छिक अवकाशको प्रस्ताव गर्ने जनाएको छ।
मेटाकी प्रमुख मानव संसाधन अधिकारी जेनल गेलले आन्तरिक सन्देशमा एआईको प्रत्यक्ष उल्लेख नगरे पनि अन्य लगानीलाई सन्तुलन गर्न कर्मचारी कटौती आवश्यक भएको बताएकी छन्।
तर मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भने एआईका कारण पहिले ठूलो टोलीले गर्ने काम अब सानो समूह वा एक व्यक्तिले गर्न सक्ने भएकाले नयाँ भर्ना आवश्यक नपर्ने बताएका छन्। उनले एआईमा ठूलो रकम लगानी गर्ने योजना पनि सार्वजनिक गरेका छन्।
माइक्रोसफ्टतर्फ एआई प्रमुख मुस्तफा सुलेमानले आगामी बाह्रदेखि अठार महिनाभित्र अधिकांश कार्यालयसम्बन्धी काम एआईले प्रतिस्थापन गर्न सक्ने बताएका छन्।
प्रमुख कार्यकारी अधिकृत सत्य नाडेलाका अनुसार अहिले नै कम्पनीको करिब तीस प्रतिशत कोडिङ एआईमार्फत भइरहेको छ। कम्पनीले एआई पूर्वाधारमा ठूलो लगानी गर्ने योजना बनाएको छ।
यी निर्णयहरूले प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारीहरूमा चिन्ता बढाएको छ, किनकि एआईका कारण रोजगारी गुम्ने डर बढ्दै गएको छ।
केही रिपोर्टअनुसार मेटाले आफ्ना कर्मचारीहरूको कम्प्युटर गतिविधि (जस्तै माउस चलाउने, क्लिक गर्ने र टाइप गर्ने) समेत एआई प्रशिक्षणका लागि सङ्कलन गर्ने प्रणाली प्रयोग गरिरहेको छ।
अन्य कम्पनीहरू पनि एआईमा जोड दिँदै कर्मचारी कटौती गरिरहेका छन्। अमेजनले पछिल्लो छ महिनामा कम्तीमा तीस हजार कर्मचारी हटाइसकेको छ। ओरेकलले पनि हजारौँ रोजगारी कटौती गर्ने जनाएको छ।





