लुइसियानाको किनमेल केन्द्रमा दुई समूहबीच गोली हानाहान, एकको मृत्यु र पाँच घाइते
प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार
अमेरिकाको लुइसियानामा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ। लुइसियानाको ब्याटन रूज सहरस्थित एउटा ठूलो किनमेल केन्द्र (सपिङ मल) को ‘फूड कोर्ट’ मा दुई समूहबीच विवाद हुँदा गोली हानाहान भएको हो। उक्त घटनामा अन्य पाँच जना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ।
प्रहरी प्रमुखका अनुसार दुई समूहबीचको आपसी विवादका कारण गोली चल्दा त्यहाँ रहेका केही निर्दोष सर्वसाधारणसमेत घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ। घाइते पाँचै जनाको अवस्थाबारे प्रहरीले पुष्टि गरिसकेको छ।
प्रहरीका अनुसार यो कुनै आकस्मिक हिंसा नभई दुई समूहबीचको लक्षित विवादको परिणाम हो। अनुसन्धानलाई सहयोग पुर्याउन प्रहरीले घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूलाई आफूसँग भएका तस्बिर वा भिडियो सामग्री उपलब्ध गराउन आग्रह गरेको छ।
ब्याटन रूजका नगरप्रमुखले गोली चलाउनेहरूलाई जुनसुकै हालतमा कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्। लुइसियाना राज्यका गभर्नरले पनि यसबारे सुरक्षा निकायहरूसँग निरन्तर समन्वय भइरहेको जानकारी दिएका छन्।





