पेन्टागनमा धमाधम अधिकारीहरू हटाइँदै: नौसेना प्रमुख फेलन पनि बाहिरिए


प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार

अमेरिकी नौसेनाका प्रमुख जोन फेलनले राजीनामा दिएका छन्। पेन्टागनका प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै फेलनको राजीनामा स्वीकृत भएको बताएका छन्।

पार्नेलका अनुसार नौसेनाका उपप्रमुख हङ काओले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। हालका महिनाहरूमा प्रशासन छाड्ने उच्च पदस्थ सैन्य नेतृत्वमध्ये फेलन पछिल्लो व्यक्ति हुन्। उनको बहिर्गमन अमेरिका–इजरायल र इरानबीचको युद्ध तथा हर्मुज जलमार्गमा अमेरिकाले जारी राखेको नाकाबन्दीका बीच भएको हो। फेलनको राजीनामाको कारण भने नौसेनाले खुलाएको छैन।

यो घटनाक्रम केही साताअघि मात्रै अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेनाका प्रमुख र्यान्डी जर्जलाई पदबाट हटाउन आग्रह गरेको प्रसङ्गपछि आएको हो। यसका साथै, दुई अन्य सैन्य अधिकारी जनरल डेविड होड्ने र मेजर जनरल विलियम ग्रीन लाई पनि हालै पदबाट हटाइएको छ।

पेन्टागन प्रवेश गरेयता हेगसेथले नौसेनाका ‘चिफ अफ अपरेसन्स’ र वायुसेनाका उपप्रमुखसहित एक दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीलाई हटाइसकेका छन्।

फेलन यसअघि सेनामा सेवा नगरेका व्यक्ति हुन्। उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा मनोनयन गरेपछि मार्च २०२५ मा नौसेना प्रमुखका रूपमा शपथ दिलाइएको थियो। उनका स्थानमा आउने हङ काओ अक्टोबर २०२५ मा उपप्रमुख बनेका थिए। उनी भने २५ वर्षे नौसेना अनुभव भएका व्यक्ति हुन्।

काओले सन् २०२४ मा भर्जिनियाबाट अमेरिकी सिनेटका लागि चुनाव लडेका थिए, जहाँ उनलाई ट्रम्पले समर्थन गरेका थिए। तर, उनी डेमोक्रेटिक सिनेटर टिम केनसँग पराजित भएका थिए।

नौसेनामा नेतृत्व परिवर्तन भइरहँदा ट्रम्पले इरानसँगको युद्धविरामका बाबजुद पनि इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहने बताएका छन्। विश्वको ठूलो हिस्सा तेल आपूर्ति गर्ने महत्त्वपूर्ण हर्मुज जलमार्गमा झडपहरू भइरहेका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा जहाज नियन्त्रणमा लिएको दाबी गरेको छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति नाकाबन्दीप्रति “सन्तुष्ट” रहेको र “इरान निकै कमजोर अवस्थामा रहेको बुझाइ” राखेको बताएकी छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकासँगको वार्तामा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघेर घालिबाफले अमेरिका र इजरायलले युद्धविरामको स्पष्ट उल्लङ्घन गरेकाले हर्मुज जलमार्ग पुनः खोल्न सम्भव नभएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com