अमेरिकी सहायक विदेश मन्त्रीको नेपाल भ्रमण : लगानी, सुशासन र द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित


प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार

अमेरिकी सहायक विदेश मन्त्री (दक्षिण तथा मध्य एसिया मामिला) एस. पल कपुरले नेपालको तीन दिने भ्रमण सकिएको छ। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–अमेरिका सम्बन्ध, लगानी प्रवर्द्धन र व्यापारिक सहकार्यका विषयमा छलफल गरेका छन्। बालेन सरकार गठनपछि अमेरिकाबाट यो सबैभन्दा उच्च तहको भ्रमण हो।

अर्थमन्त्री वाग्लेसँग भेट : आर्थिक सुधार र लगानीको वातावरण
मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण रहेको स्पष्ट पारे। उनले पुराना अनावश्यक कानुन खारेज गरी नयाँ कानुन निर्माण गर्दै लगानीको वातावरण सृजना गर्न सरकारले आर्थिक सुधारलाई प्राथमिकता दिएको बताए। मन्त्री वाग्लेले अमेरिकी लगानीकर्ता तथा गैर आवासीय नेपाली लगानीकर्ताबाट विशेष गरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा लगानी अपेक्षा गरेको उल्लेख गरे।

जवाफमा सहायक विदेश मन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपछि गठित वर्तमान सरकारले लिएका सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जनताले सकारात्मक रूपमा हेरिरहेको उनले बताए। उनले दुई देशबीच सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तर्राष्ट्रिय विकास तथा वित्तीय संस्थासँगको साझेदारीमा दुवै देशले लाभ लिन सक्ने धारणा राखे। भेटमा सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्धन र द्विपक्षीय सहयोगबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

अमेरिकी सहायक विदेश मन्त्री एस. पल कपुर र नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

परराष्ट्र मन्त्री खनालसँग भेट : सम्बन्ध सुदृढीकरण
परराष्ट्र मन्त्री शिशिर खनालसँग मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानी क्षेत्रमा ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। थप कुराकानी के-के भए भन्ने कुरा विस्तृतमा खुलाइएको छैन।

अमेरिकी सहायक विदेश मन्त्री एस. पल कपुर र नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल

रवि लामिछानेसँग भेट : राजनीतिक संवाद
अमेरिकी सहायक विदेश मन्त्री कपुरले रास्वपा सभापति रवि लामिछाने निवास पुगेर भेटवार्ता गरेका थिए। करिब ३० मिनेटको कुराकानीमा अमेरिका–नेपाल सम्बन्ध अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ। छलफलमा कुन कुरालाई प्राथमिकतामा राखिएको थियो भन्ने  सार्वजनिक नगरिए पनि मुख्य विषय अमेरिका नेपाल कूटनीतिक सम्बन्ध मै केन्द्रित रहेको बताइएको छ ।

अमेरिकी सहायक विदेश मन्त्री एस. पल कपुर र रास्वपा सभापति रवि लामिछाने

निजी क्षेत्र, प्रविधि र सांस्कृतिक भ्रमण
कपुरले नेपालको बढ्दो गतिशील प्रविधि क्षेत्रमा थप सहकार्यको सम्भावना खोज्न अमेरिकी र नेपाली निजी क्षेत्रका साझेदारसँग पनि छलफल गरे। उनले आगामी ‘सेलेक्ट यूएसए’ लगानी सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलसँग अमेरिकी लगानीका अवसरबारे विचार साटे।

त्यस्तै, उनले बौद्धनाथ स्तूप र पाटन दरबार क्षेत्रको भ्रमण गरी नेपालको समृद्ध इतिहास र संस्कृतिको अनुभव गरे। अमेरिकाले राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत ती स्थलहरूको संरक्षणमा सहयोग गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com