भर्जिनियाको जनमतसङ्ग्रह: कङ्ग्रेसमा डेमोक्र्याटहरूको नियन्त्रण बढ्ने सम्भावना


प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार

virginia

तस्बिर: मना / अनस्प्ल्यास

अमेरिकाको भर्जिनियाका मतदाताहरूले निर्वाचन क्षेत्र पुनःनिर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेका छन्। यो प्रस्ताव स्वीकृत भएसँगै कडा प्रतिस्पर्धामा रहेको अमेरिकी प्रतिनिधिसभामा डेमोक्र्याटहरूको नियन्त्रण कायम हुन सक्ने सम्भावना बलियो बनेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र रिपब्लिकनहरूले कन्जर्भेटिभहरूलाई संसदीय बहुमत जोगाउन सहयोग पुऱ्याउने उद्देश्यले देशव्यापी रूपमा निर्वाचन क्षेत्र पुनःचित्रण (जेरिम्यान्डरिङ) अभियान सुरु गरेका थिए। भर्जिनिया अहिले कङ्ग्रेसीय क्षेत्र पुनःनिर्धारणको राष्ट्रिय प्रतिस्पर्धाको नयाँ केन्द्र बनेको छ।

गत वर्ष क्यालिफोर्नियामा डेमोक्र्याटहरूले पनि यस्तै प्रस्ताव स्वीकृत गरेका थिए। त्यसको मुख्य उद्देश्य टेक्सासमा पुनःचित्रित नक्सामार्फत रिपब्लिकनहरूले हासिल गरेको लाभलाई निष्प्रभावी बनाउनु थियो। भर्जिनियामा पारित संशोधनले राज्यको कङ्ग्रेसीय नक्सा पुनःचित्रण गरी रिपब्लिकनहरूले जितेका चारवटासम्म सिट उल्ट्याउन सक्ने आकलन गरिएको छ।

हाल भर्जिनियाका ११ मध्ये ६ सिट डेमोक्र्याटहरूको पक्षमा छन्। नयाँ नक्साले उनीहरूलाई बढीमा १० सिटसम्म जित्ने अवसर प्रदान गर्न सक्छ। भर्जिनियाको यो जनमतसङ्ग्रह राज्यको इतिहासकै सबैभन्दा महँगो मतदान प्रस्ताव बनेको छ।

‘भर्जिनिया पब्लिक एक्सेस प्रोजेक्ट’को तथ्याङ्कअनुसार यस अभियानका दुवै पक्षले यस महिनाको सुरुसम्म ८० मिलियन अमेरिकी डलरभन्दा बढी रकम सङ्कलन गरिसकेका छन्।

भर्जिनियाको प्रस्तावबारे पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै ट्रम्पले भने, “यदि मध्यावधि निर्वाचनमा प्रतिनिधिसभामा डेमोक्र्याटहरूले बहुमत प्राप्त गरे भने यो ठूलो विपत्ति हुनेछ।” उनले थपे, “तपाईंहरूलाई जेरिम्यान्डरिङ के हो भन्ने थाहा नहुन सक्छ, तर यो राम्रो कुरा होइन।”

सामान्यतया, अमेरिकी राज्यहरूले जनगणनाबाट प्राप्त नयाँ जनसङ्ख्या तथ्याङ्कका आधारमा प्रत्येक दशकमा एकपटक निर्वाचन नक्सा पुनःनिर्धारण गर्छन्।

तर ट्रम्पको दबाबपछि टेक्सास कार्यकालको बीचमै (मध्यावधिमा) नक्सा परिवर्तन गर्ने पहिलो राज्य बन्यो। यसले अन्य राज्यहरूलाई पनि आफ्ना राजनीतिक दललाई फाइदा पुग्ने गरी नक्सा परिवर्तन गर्न प्रेरित गरेको छ। टेक्सासको नयाँ नक्साले रिपब्लिकनहरूलाई थप पाँच सिटमा लाभ पुऱ्याउने देखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टेक्सासको कदमप्रति ट्रम्पको समर्थनपछि, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले “जस्तोलाई त्यस्तै” जवाफ दिने उद्देश्यले स्वतन्त्र रूपमा बनाइएका नक्साहरू निलम्बन गर्न अभियान सुरु गरेका थिए। क्यालिफोर्नियाका मतदाताहरूले गत नोभेम्बरमा विशेष जनमतसङ्ग्रहमार्फत नयाँ नक्सा स्वीकृत गरे, जसले डेमोक्र्याटहरूलाई थप पाँच जिल्लामा अग्रता दिलाएको छ।

अमेरिकामा जेरिम्यान्डरिङ अर्थात् कुनै राजनीतिक दललाई फाइदा पुग्ने गरी निर्वाचन क्षेत्रको सिमाना फेरबदल गर्ने प्रक्रिया जातीय आधारमा गरिएको अवस्थामा मात्र गैरकानुनी मानिन्छ।

रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा प्रतिनिधिसभामा आफ्नो झिनो बहुमत जोगाइराख्न कडा सङ्घर्ष गरिरहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com