अमेरिकामा शरणार्थी कार्यक्रम फुकुवा, परिक्षण कडा गर्ने नयाँ मापदण्ड


प्रकाशित मिति : कार्तिक ९, २०७४ बिहीबार

अमेरिकाले कुनै पनि व्यक्तिलाई शरणार्थीको मान्यता दिनुअगाडि सुरक्षा र पृष्ठभूमी जाँचमा थप कडाई गर्ने भएको छ । १२० दिनको अस्थायी प्रतिबन्ध समाप्त हुनु अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ११ वटा देशका लागि ९० दिनको पुनरावलोकन अवधि घोषणा गर्दै नयाँ मापदण्ड तोकेका हुन् ।

नयाँ घोषणा पछि शरणार्थी कार्यक्रममा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ तर विश्वका विभिन्न देशबाट शरणार्थीका रुपमा अमेरिका प्रवेश गर्नेहरुका सन्दर्भमा अमेरिकाले सुरक्षा जाँच र पृष्ठभूमी परिक्षणमा कडाई गर्ने भएको छ । ह्वाइट हाउसले घोषणा गरेको नयाँ घोषणाले राष्ट्रिय सुरक्षाका लागि नयाँ मापदण्डहरु तय गरेको छ ।

नयाँ घोषणा र मापदण्डले शरणार्थी कार्यक्रममा हुने जालसाजी रोक्ने ह्वाइट हाउसको अपेक्षा रहेको छ । अमेरिकामा आउने शरणार्थीका सन्दर्भमा अमेरिकाले जोखिमपूर्ण देशको सुचीमा राखेका ११ देशका नागरिकहरुलाई अझ बढी निगरानी र कडाई गर्ने भएको छ । थप ९० दिनको पुनरावलोकन अवधिमा ती देशहरुबाट आउने शरणार्थीका सन्दर्भमा एकएक गरी कडा छानविन गरिने छ ।

९० दिनको पुनरावलोकनको अवधिमा अमेरिकी सरकारका एजेन्सीहरुले ती देशको अवस्था पुनरावलोकन गरेर भिसा कार्यक्रम नियमित गर्नसक्ने जनाइएको छ । ११ देशको सुचीमा इजिप्ट, इरान, इराक, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, साउथ सुडान, सुडान, सिरिया र यमन रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com