ट्रम्पका घोषणाअघि नै वित्तीय बजारमा ‘शङ्कास्पद’ कारोबार, होला त कारबाही ?


प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार

फोटो: एपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूला घोषणाहरू गर्नुअघि नै व्यापारीहरूले लाखौँ डलरको बाजी लगाएको पाइएको छ। ट्रम्पको दोस्रो कार्यकालभरि उनले गरेका घोषणा र त्यसपछिका कारोबारका आधारमा यो तथ्य देखिएको हो।

वित्तीय बजारका विभिन्न कारोबार तथ्याङ्कहरूको अध्ययन गरी ती विवरणलाई राष्ट्रपतिका महत्त्वपूर्ण घोषणासँग तुलना गर्दा यस्तो खुलासा भएको हो। यस अध्ययनले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा जानकारी सार्वजनिक हुनु केही घण्टा वा कहिलेकाहीँ केही मिनेटअघि नै असामान्य रूपमा कारोबार बढ्ने गरेको पत्ता लगाएको छ।

केही विश्लेषकहरूले यसलाई गैरकानुनी ‘भित्री सूचना’ मा आधारित कारोबारको सङ्केत भएको बताएका छन्। सर्वसाधारणलाई उपलब्ध नभएको जानकारीका आधारमा केही लगानीकर्ताले लगानी गर्ने गरेको पाइएको हो। यद्यपि, अन्य केहीले भने व्यापारीहरू राष्ट्रपतिका सम्भावित कदमहरू अनुमान गर्न सक्षम हुँदै गएकाले यस्तो भएको हुनसक्ने तर्क गरेका छन्।

९ मार्च २०२६ मा ट्रम्पले एक अन्तर्वार्तामा इरानसँगको युद्ध लगभग समाप्त भएको सङ्केत दिएका थिए। उक्त अभिव्यक्ति सार्वजनिक हुनुभन्दा करिब ४७ मिनेटअघि नै तेलको मूल्य घट्ने अनुमानमा ठूलो मात्रामा कारोबार भएको थियो। सूचना सार्वजनिक भएसँगै तेलको मूल्य करिब २५ प्रतिशतले घट्यो, जसबाट केही व्यापारीले ठूलो नाफा कमाए।

२३ मार्च २०२६ मा ट्रम्पले इरानसँगको समस्या पूर्ण समाधानको नजिक पुगेको उल्लेख गरे। यो घोषणा हुनुभन्दा केही मिनेटअघि नै तेल बजारमा असामान्य कारोबार भयो र घोषणा लगत्तै मूल्य झन्डै ११ प्रतिशतले घट्यो। ९ अप्रिल २०२५ मा ट्रम्पले ‘लिबरेशन डे’ को अवसरमा केही करहरू स्थगित गर्ने घोषणा गरे। उक्त घोषणाअघि नै शेयर बजार बढ्ने अनुमानमा ठूलो लगानी गरिएको थियो। घोषणापछि प्रमुख सूचकाङ्क करिब ९.५ प्रतिशतले उकालो लाग्यो।

यस विषयमा अमेरिकी संसद्का केही सदस्यहरूले नियामक निकायलाई अनुसन्धान गर्न आग्रह गरे पनि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। अनलाइन पूर्वानुमान बजारहरूमा पनि यस्तै गतिविधि देखिएको छ।

सन् २०२६ जनवरी ३ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पदबाट हट्ने घटनाअघि नै एक प्रयोगकर्ताले ठूलो रकम लगानी गरेका थिए। त्यस्तै, सन् २०२६ फेब्रुअरी २८ मा अमेरिकाले इरानमाथि आक्रमण गर्ने अनुमानमा केही खाताहरूले बाजी लगाएका थिए।

यी घटनाहरूले भित्री जानकारीको दुरुपयोग भएको हुनसक्ने शङ्का उत्पन्न गरेका छन्। तर, वित्तीय कानुनका विशेषज्ञहरूका अनुसार यस्ता गतिविधि प्रमाणित गर्न र स्रोत पत्ता लगाउन अत्यन्त कठिन हुन्छ। त्यसैले स्पष्ट सङ्केत देखिए पनि दोषीमाथि कारबाही हुने सम्भावना न्यून रहेको विज्ञहरूको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी कानुनअनुसार भित्री सूचनामा आधारित कारोबार गैरकानुनी भए पनि यस्ता राजनीतिक घटनाक्रममा आधारित कारोबारमा ठोस कारबाही भएको इतिहास नरहेको विश्लेषकहरू बताउँछन्। बीबीसी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com