इरानद्वारा हर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा, अमेरिकालाई “ब्ल्याकमेल” नगर्न ट्रम्पको चेतावनी


प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार

फोटो: एपी/रासस

इरानले सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि पुनः बन्द गर्ने घोषणा गरेको छ। यससँगै इरानले उक्त मार्ग भएर आउने कुनै पनि जहाजलाई निशाना बनाइने कडा चेतावनी समेत दिएको छ।

उक्त क्षेत्र आसपास रहेका केही व्यावसायिक जहाजहरू र एक तेल ट्याङ्करमा इरानले आक्रमण गरेको रिपोर्ट सार्वजनिक भएलगत्तै तेहरानले यो कठोर निर्णय लिएको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) का अनुसार अमेरिकाले हर्मुज जलमार्गमा निरन्तर नाकाबन्दी जारी राखेकाले प्रतिरक्षा स्वरूप यो कदम चालिएको हो।

इरानी विदेशमन्त्रीले विश्वका महत्त्वपूर्ण समुद्री मार्गहरू अस्थायी रूपमा खुला गर्ने घोषणा गरेको ठिक एक दिनपछि सैन्य कमान्डबाट यस्तो निर्णय आउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यो कदमप्रति कडा प्रतिक्रिया दिँदै जलमार्ग बन्द गर्ने धम्की दिएर अमेरिकालाई “ब्ल्याकमेल” गर्न नसकिने चेतावनी दिएका छन ।

ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी शान्ति सम्झौता नभएसम्म जारी रहने स्पष्ट पारेका छन। विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुन्छ।

झन्डै दुई महिनादेखिको अवरोधका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ। हाल जारी दुई हप्ते युद्धविराम यही २२ अप्रिल मा समाप्त हुँदैछ। अमेरिकाले १३ अप्रिलदेखि नाकाबन्दी लागू गरेयता २३ वटा जहाजहरूलाई बीच बाटोबाटै फर्काइएको दाबी गरेको छ।

यो संकट गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो। पर्सियन गल्फलाई अरब सागरसँग जोड्ने यो साँघुरो जलमार्ग मध्यपूर्वका प्रमुख तेल उत्पादक राष्ट्रहरूका लागि समुद्रसम्म पुग्ने एकमात्र बाटो हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकी नाकाबन्दीलाई युद्धविरामको ठाडो उल्लङ्घन भन्दै नाकाबन्दी नहटेसम्म जलमार्ग खुला नगर्ने अडान लिएको छ। आईआरजीसी नौसेनाले ओमान सागर र पर्सियन गल्फमा रहेका जहाजहरूलाई आफ्नो स्थानबाट अघि नबढ्न अन्तिम चेतावनी दिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com