एयर क्यानडाद्वारा न्युयोर्क (जेएफके) विमानस्थलका उडान स्थगित


प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार

एयर क्यानडाले अमेरिकाको न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलका उडानहरू अस्थायी रूपमा स्थगित गर्ने घोषणा गरेको छ। क्यानडाको राष्ट्रिय ध्वजावाहक एयर क्यानडाले इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण टोरन्टो र मोन्ट्रियलबाट जेएफके विमानस्थलसम्म हुँदै आएका उडानहरू स्थगन गर्ने निर्णय गरेको हो।

यो निर्णय अमेरिका–इजरायल र इरानबीचको तनावका कारण उड्डयन इन्धन को मूल्य बढ्दै गएपछि विश्वभरका वायुसेवा कम्पनीहरूले सेवा कटौती गर्न सक्ने चिन्ताबीच आएको हो। अप्रिलको सुरुवातमा युद्धविराम भए तापनि इन्धनको मूल्य अझै उच्च छ। इरानले हर्मुज जलमार्ग पुनः खुला भएको घोषणा गरेपछि कच्चा तेलको मूल्यमा केही गिरावट आए पनि समग्र इन्धन लागत अझै महँगो नै छ।

एयर क्यानडाले जारी गरेको वक्तव्यमा भनिएको छ, “इरान–इजरायल तनाव सुरु भएयता जेट इन्धनको मूल्य दोब्बर भएकोले कम नाफा हुने मार्गहरू बन्द गर्नुको विकल्प रहेन।” टोरन्टो र मोन्ट्रियलबाट न्युयोर्क जाने उडानहरू जुन १ देखि रोकिनेछन् र ती उडानहरू अक्टोबर २५ बाट पुनः सञ्चालनमा ल्याउने योजना छ। प्रभावित मार्गहरूमा मोन्ट्रियलबाट एक र टोरन्टोबाट तीन उडानहरू समावेश छन्।

कम्पनीले प्रभावित यात्रुहरूलाई वैकल्पिक यात्राको व्यवस्था गरिने जनाएको छ। साथै, न्युयोर्कका अन्य विमानस्थलहरू ला गार्डिया र न्यु जर्सीको नेवार्कतर्फ भने क्यानडाका विभिन्न सहरहरूबाट दैनिक ३४ वटा उडानहरू यथावत् सञ्चालन हुनेछन्। कम्पनीका अनुसार यी परिवर्तनहरूले कुल यात्रु क्षमताको करिब १ प्रतिशतमा मात्र असर पार्नेछ।

मध्यपूर्वमा तनाव सुरु भएयता वायुसेवा कम्पनीहरूले बढ्दो इन्धन लागतका कारण टिकट बुकिङमा समेत असर परेको चेतावनी दिँदै आएका छन्। बेलायतको बजेट वायुसेवा कम्पनी ‘इजीजेट’ ले मार्चसम्मको छ महिनामा करअघिको ५४० देखि ५६० मिलियन पाउन्ड घाटा हुने अनुमान गरेको छ। अस्ट्रेलियाका प्रमुख वायुसेवा कम्पनीहरूले पनि टिकटको मूल्य बढाउने र उडान संख्या घटाउने घोषणा गरेका छन्।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ले युरोपमा जेट इन्धनको भण्डारण अब करिब ६ हप्ताका लागि मात्र पर्याप्त रहने चेतावनी दिएको छ। संस्थाका कार्यकारी निर्देशक फातिह बिरोलका अनुसार मध्यपूर्वको अस्थिरताका कारण आपूर्ति शृङ्खलामा समस्या आएको हो। यदि चाँडै आपूर्ति सामान्य अवस्थामा फर्किएन भने विश्वभर उडान रद्द हुने क्रम अझ बढ्न सक्नेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com