मध्यपूर्वमा रहेका अमेरिकी र इजरायली विश्वविद्यालयमा आक्रमण गर्ने इरानको चेतावनी


प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले मध्यपूर्व क्षेत्रमा रहेका इजरायली तथा अमेरिकी विश्वविद्यालयहरूमा आक्रमण गर्ने चेतावनी दिएको छ। तेहरानस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयमा भएको आक्रमणपछि इरानको यो कडा प्रतिक्रिया आएको हो।

आईआरजीसी ले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वी क्षेत्रका त्यस्ता सबै विश्वविद्यालयहरूलाई ‘वैध लक्ष्य’ मानिने उल्लेख गरिएको छ। इरानी विश्वविद्यालयहरूमा भएको आक्रमणको प्रतिकारस्वरूप अन्य दुईवटा विश्वविद्यालयमा जवाफी आक्रमण नभएसम्म यस्तो स्थिति जारी रहने बताइएको छ।

इरानले अमेरिकी विश्वविद्यालयहरूमा कार्यरत कर्मचारी, प्राध्यापक तथा विद्यार्थीहरूका साथै ती विश्वविद्यालय आसपास बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षाका लागि कम्तीमा एक किलोमिटर टाढा रहन चेतावनी दिएको छ।

आईआरजीसी ले अमेरिकालाई इरानी विश्वविद्यालयहरूमा भएको बम आक्रमणको निन्दा गर्न आग्रह गरेको छ। अन्यथा, यस क्षेत्रका अमेरिकी संस्थाहरूमा प्रतिकारात्मक आक्रमण हुन सक्ने चेतावनी दिँदै मार्च ३० सम्मको समयसीमा तोकेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ताले सामाजिक सञ्जालमार्फत इस्फहान प्रविधि विश्वविद्यालय र तेहरानस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयमा भएका आक्रमणको भर्त्सना गरेका छन्।

प्रवक्ताले अमेरिका र इजरायलमाथि इरानको वैज्ञानिक आधार तथा सांस्कृतिक सम्पदालाई कमजोर पार्ने उद्देश्यले विश्वविद्यालय, अनुसन्धान केन्द्र, ऐतिहासिक सम्पदा र प्रमुख वैज्ञानिकहरूलाई योजनाबद्ध रूपमा निशाना बनाएको आरोप लगाएका छन्।

उनले इरानको आणविक कार्यक्रम र तेहरानबाट आउन सक्ने खतरालाई नियन्त्रण गर्ने अमेरिका र इजरायलको दाबीलाई ‘कुटिल बहाना’ र वास्तविक उद्देश्य लुकाउन रचिएको ‘झुटो प्रचार’ मात्र भएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com