अमेरिकी विमानवाहक युद्धपोत इरान नजिक, क्षेत्रीय तनाव बढ्ने खतरा
प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार
अमेरिकी विमानवाहक युद्धपोत इरान नजिकको समुद्री क्षेत्रमा पुगेको छ। अमेरिकाले इरानको आणविक कार्यक्रम तथा प्रदर्शनकारीमाथि भएको दमनका विषयमा दबाब बढाइरहेका बेला अमेरिकी युद्धपोत युएसएस अब्राहम लिङ्कन इरान नजिकको समुद्री क्षेत्रमा पुगेको विवरण सार्वजनिक भएको हो।
अमेरिका र इरानका अधिकारीहरूबीच मङ्गलबार स्विट्जरल्याण्डमा दोस्रो चरणको वार्ता हुने तय भएको छ। इरानले उक्त वार्ता आफ्नो आणविक कार्यक्रम र अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध हटाउने विषयमा केन्द्रित हुने जनाएको छ। अमेरिकाले भने क्षेत्रीय सुरक्षा तथा अन्य विषयहरू पनि छलफलमा समेट्न चाहेको सङ्केत दिएको छ।
उक्त युद्धपोत निमिट्ज-श्रेणीको परमाणु शक्तिचालित विमानवाहक जहाज हो। यसले तीनवटा निर्देशित क्षेप्यास्त्र विध्वंसक सहितको आक्रमण समूहको नेतृत्व गर्दछ। करिब ९० वटा लडाकु तथा सहयोगी विमान बोकेको उक्त जहाजमा झण्डै ५ हजार ६ सय ८० सैनिक तथा प्राविधिक कर्मचारी तैनाथ छन्।
जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको बताइए पनि सो जहाज हालसम्म उपग्रह तस्बिरमा स्पष्ट देखिएको थिएन। अहिले भने उक्त जहाज ओमानको तटबाट करिब ७ सय किलोमिटर दूरीमा रहेको पाइएको छ।
यसैबीच, अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मानिने युएसएस जेराल्ड फोर्ड लाई पनि मध्यपूर्वतर्फ पठाएको बताइएको छ। सो युद्धपोत आगामी केही साताभित्र उक्त क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ।
युरोपेली सेन्टिनेल-२ उपग्रहबाट प्राप्त तस्बिरहरूले उक्त युद्धपोतलाई अरबी सागरमा, ओमानको तटबाट करिब २ सय ४० किलोमिटर टाढा देखाएका छन्। खुला समुद्रमा रहेकाले सो जहाज यसअघि उपग्रह निगरानीमा नपरेको हुन सक्ने अनुमान गरिएको छ।
हाल मध्यपूर्व क्षेत्रमा १२ वटा अमेरिकी युद्धपोत उपग्रहमार्फत निगरानी गरिएको छ। तीमध्ये केही बहराइनस्थित नौसैनिक अड्डामा तैनाथ छन् भने अन्य केही पूर्वी भूमध्यसागर र रातो सागर क्षेत्रमा देखिएका छन्।
अमेरिकी सेन्ट्रल कमाण्डले ६ फेब्रुअरीमा उक्त विमानवाहकसहितका युद्धपोत र लडाकु विमानहरूको तस्बिर सार्वजनिक गर्दै आफ्नो सैन्य तयारी प्रदर्शन गरेको थियो।
यसको जवाफस्वरूप इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स ले होर्मुज जलडमरूमध्यमा समुद्री अभ्यास सञ्चालन गरेको जनाएको छ। सो अभ्यासका क्रममा प्रमुख मेजर जनरल मोहम्मद पाकपुरले नौसैनिक गतिविधिको निरीक्षण गरेका थिए। त्यस बेला जहाजबाट क्षेप्यास्त्र प्रक्षेपण गरिएको विवरण सार्वजनिक भएको छ।
होर्मुज जलडमरूमध्य विश्वकै महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो, जहाँबाट विश्वको झण्डै पाँच भागको एक भाग तेल तथा ग्यास आपूर्ति हुन्छ। यस्तो संवेदनशील क्षेत्रमा अमेरिका र इरान दुवैले सैन्य गतिविधि बढाइरहेका कारण क्षेत्रीय तनाव थप बढ्न सक्ने आकलन गरिएको छ।
