अमेरिकामा यस वर्ष कृषि आम्दानी घट्ने पूर्वानुमान, किसानहरूको आर्थिक अवस्था चुनौतीपूर्ण बन्ने संकेत


प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार

अमेरिकामा किसानहरूको आर्थिक अवस्था थप चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ। अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चर (यूएसडीए)ले सार्वजनिक गरेको नयाँ पूर्वानुमान अनुसार सन् २०२६ मा अमेरिकाको शुद्ध कृषि आम्दानी ० दशमलव ७ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

यूुएसडीएका अनुसार आगामी वर्ष शुद्ध कृषि आम्दानी १५३ दशमलव ४ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा कम हो। मुद्रास्फीतिको प्रभावलाई समायोजन गर्दा कृषि आम्दानी करिब २ दशमलव ६ प्रतिशतले घट्ने अनुमान गरिएको छ।

सरकारी सहयोग बिना भने किसानहरूको आम्दानी झन् तीव्र रूपमा घट्ने देखिएको छ। तथ्यांक अनुसार सरकारी भुक्तानी नभएमा कृषि आम्दानी झण्डै १२ प्रतिशतले घटेर १०९ दशमलव १ अर्ब डलरमा सीमित हुने अनुमान गरिएको छ।

कृषि अर्थशास्त्र विशेषज्ञ वेस्ली डेविसका अनुसार सरकारी सहयोगले अहिले बाली उत्पादकहरूलाई ठूलो राहत दिएको छ। तर कम बाली मूल्य, विश्व बजारमा अन्नको अत्यधिक आपूर्ति, सञ्चालन खर्चमा वृद्धि तथा व्यापार नीतिका कारण निर्यातमा आएको गिरावटले किसानहरू थप दबाबमा परेको उनले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्थशास्त्रीहरूका अनुसार किसानहरू अहिले बिल तिर्न संघीय सहयोगमा झन् बढी निर्भर हुँदै गएका छन्। साथै, किसानहरूको ऋणको मात्रा पनि रेकर्ड स्तरमा पुगेको बताइएको छ।

यूएसडीएले सन् २०२५ मा किसानहरूले ३० दशमलव ५ अर्ब डलर र २०२६ मा ४४ दशमलव ३ अर्ब डलर प्रत्यक्ष सरकारी सहयोग प्राप्त गर्ने पूर्वानुमान गरेको छ। यस्तो स्तर कोभिड–१९ महामारीको समय सन् २०२० र २०२१ पछि पहिलो पटक देखिएको हो।

यूएसडीएले बाली मूल्य घटेपछि लागू हुने फार्म बिल कार्यक्रम, पूरक सहयोग तथा विपद् राहत कार्यक्रमका कारण सरकारी सहयोग बढेको जनाएको छ।

यसैबीच, यूएसडीएका अनुसार यस वर्ष मकैको बिक्रीबाट किसानहरूको आम्दानी बढ्ने अनुमान गरिएको छ भने सोयाबिनको आम्दानी स्थिर रहने र गहुँको आम्दानी घट्ने सम्भावना छ। पशुपालनतर्फ अण्डा र दूधको मूल्य घट्दा आम्दानी कम हुने अनुमान गरिएको छ । तर, गाईवस्तुबाट हुने आम्दानी भने बढ्ने अपेक्षा गरिएको छ।

अमेरिकी सिनेटको कृषि समितिका अध्यक्षले धेरै किसानहरूले ठूलो आर्थिक घाटा बेहोरिरहेको बताएका छन्। साथै, पूर्व सरकारी अधिकारी तथा उद्योग क्षेत्रका विज्ञहरूले पनि अमेरिकी कृषि क्षेत्रमा व्यापक संकट आउने जोखिम रहेको चेतावनी दिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com