अध्ययन भन्छ: कोलेस्ट्रोल घटाउने औषधि ‘स्टाटिन’ धेरै सुरक्षित


प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार

a close up of a pack of pills

फोटो: ह्यारिसन चाङ / अनस्प्ल्यास

कोलेस्ट्रोल घटाउने औषधि ‘स्टाटिन’ पहिले सोचिएभन्दा धेरै सुरक्षित रहेको एक अध्ययनले देखाएको छ। विश्वभर लाखौँ मानिसले प्रयोग गर्दै आएको यो औषधि पहिलेको अनुमानभन्दा बढी सुरक्षित रहेको ठूलो वैज्ञानिक अध्ययनको निष्कर्ष छ।

अध्ययनकर्ताहरूले औषधिको प्याकेटमा राखिने सूचनापत्र (लीफलेट) परिमार्जन गर्नुपर्ने बताएका छन्। त्यहाँ उल्लेख गरिएका सम्भावित नकारात्मक असर (साइड इफेक्ट) का कारण मानिसहरू यो जीवनरक्षक औषधि प्रयोग गर्न डराइरहेको उनीहरूको ठहर छ।

ब्रिटिस हार्ट फाउन्डेसनको सहयोगमा गरिएको अध्ययनअनुसार स्टाटिनले स्मरणशक्ति घट्ने, डिप्रेसन, निद्रामा समस्या, तौल बढ्ने र यौन दुर्बलता जस्ता धेरैजसो समस्या निम्त्याउँदैन। बरु, यसले हृदयघात र स्ट्रोकको जोखिम उल्लेखनीय रूपमा घटाउँछ।

‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित यो अध्ययन १ लाख २० हजारभन्दा बढी मानिस सहभागी भएका परीक्षणहरूमा आधारित छ। अध्ययनमा स्टाटिन र नक्कही औषधि (प्लेसिबो) बीच तुलना गरिएको थियो। अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार स्टाटिनले ‘खराब’ एलडीएल कोलेस्ट्रोल प्रभावकारी रूपमा घटाउँछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हृदयरोगले विश्वभर वार्षिक करिब एक करोड मानिसको ज्यान लिन्छ। बेलायतमा हुने कुल मृत्युमध्ये करिब एक चौथाइको कारण यही रोग हो। अन्य औषधिजस्तै स्टाटिनका पनि केही साइड इफेक्ट हुन सक्छन्, तर ती अत्यन्तै न्यून छन्।

अध्ययनका क्रममा देखिएका साइड इफेक्टहरूको सङ्ख्या स्टाटिन नखाने (प्लेसिबो समूह) सँग लगभग उस्तै थियो। यसले धेरैजसो लक्षणहरू स्टाटिनका कारण नभएको सङ्केत गर्छ। परीक्षणमा सहभागी कसैलाई पनि आफूले खाएको चक्की वास्तविक औषधि हो कि नक्कली (प्लेसिबो) भन्ने थाहा थिएन।

अध्ययनमा सूचीकृत ६६ सम्भावित साइड इफेक्टमध्ये केवल चारवटा मात्र स्टाटिनसँग केही हदसम्म सम्बन्धित पाइएका छन् । कहिलेकाहीँ यसले मांसपेशीमा क्षति पुर्‍याउन सक्छ, तर यो निकै दुर्लभ हो।

यसले रगतमा चिनीको मात्रा अलिकति बढाउन सक्छ, जसले संवेदनशील व्यक्तिमा मधुमेह चाँडो देखिन सक्छ। तर, यो पनि निकै कम हुने गरेको पाइएको छ।

अध्ययनकी प्रमुख लेखक प्रोफेसर क्रिस्टिना राइथका अनुसार, स्टाटिनको सुरक्षासम्बन्धी डरले धेरै मानिस लाभ लिनबाट वञ्चित भएका छन्। उनले भनिन्, “साइड इफेक्टबारेको भ्रम र चिन्ताका कारण धेरैले औषधि सुरु गर्न चाहँदैनन् वा बीचमै छोड्छन्। यो एक गम्भीर समस्या हो।”

ब्रिटिस हार्ट फाउन्डेसनका प्रोफेसर ब्रायन विलियम्सले प्रमाणविहीन नकारात्मक प्रचारका कारण धेरै मानिसले स्टाटिन प्रयोग नगरेको बताए। विशेषज्ञहरूले स्टाटिन जीवन बचाउने औषधि भएको दोहोर्‍याएका छन्। औषधि प्रयोग गर्दा कुनै समस्या भएमा आफैँ रोक्नुको सट्टा चिकित्सकसँग परामर्श गर्न उनीहरूको सुझाव छ।

कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक प्रकारको बोसो अर्थात् लिपिड हो। यो रगतमा बहने गर्दछ र शरीरका धेरै महत्त्वपूर्ण कार्यका लागि आवश्यक हुन्छ।

कोलेस्ट्रोल मुख्यतया कलेजोमा उत्पादन हुन्छ, तर हामीले खाने केही खानेकुराबाट पनि यो प्राप्त हुन्छ। एलडीएल अर्थात् “खराब” कोलेस्ट्रोल धमनीको भित्तामा जम्मा हुन्छ, जसले रगत बग्ने नलीलाई साँघुरो बनाउँछ।

शरीरमा यसको मात्रा धेरै भएमा हृदयघात र स्ट्रोकको जोखिम बढ्छ। अधिकांश अवस्थामा यसको कुनै स्पष्ट लक्षण देखिँदैन। धेरैजसो मानिसलाई हृदयघात वा स्ट्रोक भएपछि मात्र यसको समस्याबारे थाहा हुन्छ; त्यसैले यसलाई “शान्त हत्यारा” पनि भनिन्छ। एजेन्सीहरूको सहयोगमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com