कंगोमा खनिज खानी भत्किँदा कम्तीमा २०० मजदुरको मृत्यु
प्रकाशित मिति : माघ १८, २०८२ आईतबार
लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा खानी भत्किँदा कम्तीमा २०० व्यक्तिको मृत्यु भएको छ। त्यहाँको विद्रोही प्रशासनले उत्तर किभु प्रान्तको रुबाया सहरमा रहेको खानी लगातारको भारी वर्षाका कारण भत्किँदा यो दुर्घटना भएको बताएको छ।
उत्तर किभु क्षेत्रका विद्रोही गभर्नरका प्रवक्ता लुमुम्बा काम्बेरे मुइसाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्। दुर्घटनाका बेला महिला र बालबालिकासमेत कोल्टान खानीमा काम गरिरहेका थिए। कोल्टान स्मार्टफोन र कम्प्युटरजस्ता विद्युतीय उपकरण निर्माणमा प्रयोग हुने महत्त्वपूर्ण खनिज हो।
खानीका पूर्वसुपरभाइजरले खानीको उचित मर्मतसम्भार नगरिएको बताएका छन्, जसले दुर्घटनाको जोखिम बढाएको र उद्धार कार्यलाई समेत कठिन बनाएको उनको भनाइ छ। उनका अनुसार माटोको कमजोर संरचनाले अवस्था झन् जटिल बनाएको हो।
कंगो सरकारका अधिकारीहरूले यस दुर्घटनाको जिम्मेवारी विद्रोही समूहहरूमाथि लगाएका छन्। उनीहरूका अनुसार सुरक्षा मापदण्ड लागू नगरी अवैध खानी सञ्चालन गर्न दिँदा सर्वसाधारणको ज्यान जोखिममा परेको हो।
सरकारले गत वर्ष नै उक्त क्षेत्रमा खानी उत्खननमा प्रतिबन्ध लगाएको दाबी गरेको छ; यद्यपि त्यस समयसम्म ती खानीहरू विद्रोही समूहको नियन्त्रणमा परिसकेका थिए।
डीआर कंगोमा विगतका वर्षहरूमा पनि यस्ता खानी भत्किने घटनाहरू पटक–पटक हुँदै आएका छन्। यस दुर्घटनामा महिला, बालबालिका र साना स्तरमा काम गर्ने ‘हस्तकला खानी मजदुर’ (औपचारिक रूपमा कुनै कम्पनीमा आबद्ध नभएका) मारिएका छन्। करिब २० जना घाइतेहरू अस्पतालमा उपचाररत रहेको बताइएको छ।
एम-२३ विद्रोही समूहले उत्तर किभुका ठूला भूभाग नियन्त्रणमा लिएपछि नियुक्त गरेका गभर्नर एरास्टो बहाती मुसाङ्गाले घटनाका घाइतेहरूलाई भेटेका छन्।
रुबाया उत्तर किभुका ती सहरहरूमध्ये एक हो, जुन हाल एम-२३ विद्रोहीको नियन्त्रणमा छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूका अनुसार एम-२३ लाई छिमेकी देश रुवान्डाको समर्थन छ।
कंगोभित्र रुवान्डाली सेनाको उपस्थितिका तस्बिरसमेत उपलब्ध गराइएको छ, तर रुवान्डाले एम-२३ लाई सैन्य सहयोग गरेको आरोप सधैँ अस्वीकार गर्दै आएको छ। कंगो सरकारले भने रुवान्डाले एम-२३ मार्फत कंगोका खनिज लुटिरहेको आरोप दोहोर्याएको छ।






