ट्रम्प प्रशासनद्वारा ६५ हजार एच-२ बी मौसमी श्रमिक भिसा थप, सेप्टेम्बर ३० सम्म लागू
प्रकाशित मिति : माघ १७, २०८२ शनिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आगामी सेप्टेम्बर ३० सम्म करिब ६५ हजार अतिरिक्त एच-२ बी सिजनल गेष्ट वर्कर भिसा जारी गर्ने निर्णय गरेको छ। फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार अमेरिकी श्रमिकको अभावका कारण गम्भीर आर्थिक कठिनाइमा पर्न सक्ने नियोक्ताहरूलाई लक्षित गरी यी भिसा उपलब्ध गराइनेछ।
यस निर्णयसँगै हरेक वर्ष निर्माण, आतिथ्य (होटेल तथा पर्यटन), ल्यान्डस्केपिङ र समुद्री खाद्य प्रशोधनजस्ता क्षेत्रमा व्यवसायहरूका लागि उपलब्ध ६६ हजार एच-२ बी भिसाको सङ्ख्या झन्डै दोब्बर भएको छ। अमेरिकी नियोक्ताहरूलाई ती क्षेत्रमा कामदार खोज्न कठिनाइ भइरहेको अवस्थालाई स्वीकार गर्दै सरकार यो कदममा पुगेको बताइएको छ।
रिपब्लिकन राष्ट्रपति ट्रम्प २०२५ मा पुनः ह्वाइट हाउस फर्किएपछि व्यापक आप्रवासन कडाइ अभियान सुरु गरेका थिए। उनले कानुनी हैसियतबिनाका आप्रवासीलाई अपराधी र समुदायका लागि बोझको रूपमा चित्रित गर्दै आएका छन्। ट्रम्प प्रशासनले कानुनी आप्रवासनका अन्य प्रक्रियामा पनि कडाइ गरेको छ, जसमा व्यापक यात्रा प्रतिबन्ध तथा शरणार्थी र आश्रयसम्बन्धी मुद्दाहरूको पुनरावलोकन समावेश छ।
यद्यपि, मौसमी उद्योगहरूमा कामदारको अभाव गम्भीर बन्दै गएपछि सरकारले भिसा सङ्ख्या विस्तार गर्ने निर्णय लिएको हो। होटेलसहितका मौसमी व्यवसायका नियोक्ताहरूले लामो समयदेखि थप एच-२ बी भिसाको माग गर्दै आएका थिए। ट्रम्पको कडा आप्रवासन नीतिका कारण केही निर्माण व्यवसायहरूले आवश्यक कामदार नपाएको गुनासोसमेत गरेका छन्।
यसअघि डेमोक्रेट पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि एच-२ बी भिसाको सङ्ख्या विस्तार गरिएको थियो। त्यस्तै, ट्रम्पकै २०१७–२०२१ को पहिलो राष्ट्रपतित्वका केही अवधिमा पनि भिसा सङ्ख्या बढाइएको थियो।
तर, आप्रवासनको स्तर घटाउनुपर्ने पक्षमा रहेका समूहहरूले यस निर्णयको विरोध गरेका छन्। उनीहरूको भनाइमा यस्ता भिसाले अमेरिकी कामदारको ज्याला घटाउने र स्थानीय श्रमिक बजारमा नकारात्मक असर पार्ने जोखिम छ।
यसैबीच, ट्रम्प प्रशासनले प्रविधि (टेक) क्षेत्रका कम्पनीहरूका लागि एच(१ बी भिसामार्फत विदेशी कामदार ल्याउन अझ कठिन बनाएको छ। सरकारले एच-१ बी भिसामा १ लाख अमेरिकी डलर शुल्क थपेपछि यस विषयमा कानुनी चुनौतीसमेत दायर भएको छ।
फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार अतिरिक्त एच-२ बी भिसा उपलब्ध गराउने अस्थायी नियम मंगलबार औपचारिक रूपमा लागू हुने छ।






