अमेरिकाको चाहना बमोजिम भेनेजुएलाको संसदद्वारा तेल सम्बन्धी कानुन संशोधन


प्रकाशित मिति : माघ १५, २०८२ बिहीबार

भेनेजुएलाको संसद् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मागहरू पूरा गर्ने दिशामा अग्रसर देखिएको छ। त्यहाँको संसद्ले विदेशी कम्पनीहरूलाई देशको तेल उद्योगमा सहभागी हुन सहज हुने गरी कानुनी संशोधन स्वीकृत गरेको छ। यस कदमलाई अमेरिकासँगको सम्बन्ध सुधारका लागि चालिएको एक सकारात्मक पहलका रूपमा लिइएको छ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजको समर्थनमा पारित यस सुधारले हाल राज्य-स्वामित्वको कम्पनी ‘पेट्रोलियोस डे भेनेजुएला’ को नियन्त्रणमा रहेको तेल उद्योगलाई खुला गर्नेछ। नयाँ व्यवस्थाअनुसार विदेशी कम्पनीहरूले आफ्नै जोखिम र खर्चमा तेल क्षेत्रहरू व्यवस्थापन गर्न सक्नेछन्।

जनवरीको सुरुमा अमेरिकाले राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकी कम्पनीहरूलाई भेनेजुएलाको तेल उद्योगमा लगानी गर्न प्रोत्साहन गर्ने इच्छा पटक-पटक व्यक्त गर्दै आएको छ। भेनेजुएलासँग विश्वकै सबैभन्दा धेरै प्रमाणित तेल भण्डार छ। नयाँ कानुनले ती भण्डारबाट देशले अधिकतम लाभ लिन सहयोग गर्ने रोड्रिगेजले बताइन्।

भेनेजुएलाको संसद्ले सर्वसम्मत रूपमा उक्त सुधार पारित गरेको हो। अब यो कानुन लागू हुनुअघि रोड्रिगेजको हस्ताक्षर र आधिकारिक प्रकाशन (राजपत्रमा) आवश्यक छ। यसै महिनाको सुरुवातमा ट्रम्प प्रशासनले देशका तेल तथा ऊर्जा सम्पत्तिको सुरक्षाका लागि निजी सैन्य ठेकेदार प्रयोग गर्ने योजना बनाएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपि, केही तेल उद्योगका कार्यकारीहरूले भेनेजुएलामा लगानी गर्ने विषयमा अझै संशय व्यक्त गरेका छन्। एक्सन मोबिल का मुख्य कार्यकारी अधिकृतले मदुरो सत्ताच्युत भएपछि ह्वाइट हाउसमा भएको बैठकमा भेनेजुएला “हालको अवस्थामा लगानीयोग्य नरहेको” बताएका थिए।

कानुन स्वीकृत भएको दिन नै अमेरिकी अर्थ मन्त्रालयले भेनेजुएलाको तेल उद्योगसम्बन्धी केही प्रतिबन्धहरू खुकुलो पार्दै अमेरिकी कम्पनीहरूलाई भेनेजुएला सरकारसँग तेल निर्यात, खरिद-बिक्री, भण्डारण र ढुवानीलगायतका गतिविधि गर्न अनुमति दिने ‘सामान्य लाइसेन्स’ जारी गरेको छ।

कार्यवाहक भेनेजुएला सरकारले अमेरिकासँग सहकार्य गर्ने र उसका मागहरू पूरा गर्ने संकेत दिएपछि ट्रम्प प्रशासनले प्रतिबन्ध खुकुलो पार्दै लगेको यो पछिल्लो कडी हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com