भेनेजुएलामाथि अमेरिकी निगरानी वर्षौंसम्म रहन सक्छ : राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : पुस २३, २०८२ बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्प । (फाइल तस्वीर)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलामाथि लामो समयसम्म निगरानी राख्दै तेल आम्दानी नियन्त्रण गर्न सक्ने बताएका छन्। बिहीबार न्युयोर्क टाइम्समा प्रकाशित दुई घण्टा लामो विस्तृत अन्तर्वार्तामा ट्रम्पले उक्त अभिव्यक्ति दिएका हुन्।

न्युयोर्क टाइम्सका अनुसार अन्तर्वार्ताका क्रममा ट्रम्पले भेनेजुएलाको छिमेकी देश कोलम्बियाविरुद्ध सैन्य कारबाही गर्ने अघिल्लो धम्की पनि फिर्ता लिएको संकेत गरेका छन्। यसै क्रममा, ट्रम्पले यसअघि ‘बिरामी मानिस’ भनेर टिप्पणी गरेका कोलम्बियाका वामपन्थी नेतालाई वाशिङ्टन भ्रमणका लागि निमन्त्रणा समेत दिएका छन्।

भेनेजुएलामाथि अमेरिकाले कति समयसम्म निगरानी गर्छ ? भन्ने प्रश्नमा ट्रम्पले जवाँफ दिँदै भने – “समयले नै बताउनेछ । तीन महिना, छ महिना, एक वर्ष वा अझै लामो समय हुन सक्छ ? भन्ने प्रश्नमा उनले ‘धेरै लामो समय’ हुने बताएका हुन् ।

“हामी भेनेजुएलालाई धेरै नाफामूलक तरिकाले पुनर्निर्माण गर्नेछौँ,” ट्रम्पले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले जनवरी ३ मा रातको छापा मारेर राष्ट्रपति निकोलास मादुरोलाई पक्राउ गर्न अमेरिकी सेना पठाएको विषय पनि दोहोर्‍याए। ट्रम्पका अनुसार अमेरिका भेनेजुएलाको तेल प्रयोग गर्ने र नियन्त्रणमा लिने तयारीमा छ।

“हामी तेल प्रयोग गर्दैछौँ, तेल लिँदैछौँ। यसले तेलको मूल्य घटाइरहेको छ । हामी भेनेजुएलालाई पैसा दिनेछौँ, जुन उनीहरूलाई अत्यन्त आवश्यक छ,” उनले भने।

उनले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको सरकारसँग अमेरिकाको सम्बन्ध धेरै राम्रो रहेको पनि दाबी गरे। रोड्रिगेज मादुरोकी लामो समयदेखिकी विश्वासपात्र हुन् । अपदस्थ राष्ट्रपति मादुरोको कार्यकालमा उपराष्ट्रपतिको जिम्मेवारी सम्हालिसकेकी छन्।

तर, ट्रम्पले सन् २०२४ को निर्वाचनमा विपक्षीलाई वैध विजेता मानेको अमेरिकाले अहिले किन सत्ता हस्तान्तरण नगरेको ? भन्ने प्रश्नमा भने जवाफ दिन अस्वीकार गरेको न्युयोर्क टाइम्सले जनाएको छ।

यसैबीच, ट्रम्पले मंगलबार अमेरिकी नाकाबन्दीका कारण भेनेजुएलामै रोकिएको करिब पाँच करोड ब्यारेल तेल परिष्करण गरी बिक्री गर्ने योजना सार्वजनिक गरेका थिए।

“उनीहरूले हामीलाई आवश्यक ठानेका सबै कुरा दिइरहेका छन्,” भेनेजुएला सरकारलाई संकेत गर्दै ट्रम्पले भने।

अन्तर्वार्ताका क्रममा ट्रम्पले डेल्सी रोड्रिगेजसँग आफूले प्रत्यक्ष कुराकानी गरेको वा नगरेको विषयमा टिप्पणी गर्न अस्वीकार गरे। तर, उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियो भने रोड्रिगेजसँग नियमित सम्पर्कमा रहेको बताए।

“मार्को उनीसँग सधैं कुरा गर्छन्,” ट्रम्पले भने, “म यति भन्न सक्छु कि हामी उहाँ र उहाँको प्रशासनसँग निरन्तर सम्पर्कमा छौँ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com