मदुरोको सुरक्षामा कमजोरी: भेनेजुएलाको ‘प्रेसिडेन्सियल गार्ड’ कमाण्डर पदमुक्त


प्रकाशित मिति : २३ पुस २०८२, बुधबार

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज फोटो : एएफपी/रासस

अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाको ‘प्रेसिडेन्सियल अनर गार्ड’ का कमाण्डर जनरल जाभिएर मार्कानो ताबातालाई पदबाट हटाइएको छ।

अमेरिकी सेनाले राजधानी काराकासमा छापा मारी मदुरोलाई पक्राउ गरेर न्युयोर्क पुर्‍याएको केही दिनपछि नै ताबातामाथि यो कारबाही भएको हो। ‘प्रेसिडेन्सियल अनर गार्ड’ राष्ट्रप्रमुखको सुरक्षाका लागि खटिने विशेष सैन्य इकाइ हो।

जनरल ताबातालाई पदमुक्त गर्ने आदेश नयाँ अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले जारी गरेकी हुन्। विश्लेषकहरूका अनुसार मदुरोलाई अमेरिकी सेनाको कब्जाबाट जोगाउन असफल भएकाले नै ताबातालाई हटाइएको हो।

भेनेजुएला सरकारले विस्तृत विवरण सार्वजनिक नगरे पनि उक्त कारबाहीमा मारिएका दर्जनौँ व्यक्तिमध्ये धेरैजसो ‘अनर गार्ड’ का सदस्य रहेको विश्वास गरिएको छ।

क्युबाका अनुसार सो छापामा उसका ३२ नागरिक मारिएका छन्, जो गार्ड टोलीकै हिस्सा थिए। भेनेजुएलाको सेनाले ५ जनरलसहित २३ सैनिक मारिएको पुष्टि गरेको छ।

मदुरोलाई हात बाँधिएको र जेलको पोसाकमा क्यामेरासामु प्रस्तुत गरिएपछि सरकार समर्थकहरूले यसलाई “राष्ट्रिय अपमान” ठानेका छन्।

यसैबीच, नयाँ कमाण्डर नियुक्त गर्ने विषयमा अन्तरिम सरकार अन्योलमा छ। अमेरिकाले आफ्नो शर्त नमाने पुनः हमला गर्ने चेतावनी दिइरहेको छ।

कट्टरपन्थी गृहमन्त्री डियोसदादो काबेलो पनि ट्रम्प प्रशासनको निशानामा छन्। अमेरिकाले उनलाई ‘नार्को-षड्यन्त्र’ (लागूऔषध तस्करी) को आरोप लगाउँदै उनको गिरफ्तारीका लागि २५ मिलियन डलर पुरस्कार तोकेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com