ग्रीनल्यान्ड अधिग्रहणबारे छलफलमा ह्वाइट हाउस, बलपूर्वक सैन्य कब्जा पनि विकल्पमा


प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

ह्वाइट हाउसको जेम्स ब्राडी प्रेस ब्रीफिंग रुममा पत्रकारहरूसँग कुरा गर्दै प्रेस सेक्रेटरी क्यारोलिन लेभिट । फाइल तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस

ह्वाइट हाउसले ग्रीनल्यान्ड अधिग्रहण गर्ने विषयमा विभिन्न विकल्पहरूबारे छलफल भइरहेको जनाएको छ। ती विकल्पहरूमध्ये अमेरिकी सेनाको प्रयोग गरेर बलपूर्वक नियन्त्रण लिनेसम्मका उपायहरू पनि समावेश रहेको ह्वाइट हाउसले पुष्टि गरेको हो ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार वरिष्ठ प्रशासनिक अधिकारीहरूले डेनमार्कबाट ग्रीनल्यान्ड किन्न वा स्वतन्त्र सहकार्यको सम्झौता (कम्प्याक्ट अफ फ्री एसोसिएसन) मार्फत अधिग्रहण गर्ने सम्भावनाबारे पनि छलफल गरिरहेका छन्।

लेभिटले भनिन्, “राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहण गर्नु अमेरिकाको राष्ट्रिय सुरक्षाको प्राथमिकता भएको कुरा स्पष्ट पार्नुभएको छ। आर्कटिक क्षेत्रमा प्रतिद्वन्द्वीहरूलाई रोक्न ग्रीनल्यान्ड अत्यन्तै महत्वपूर्ण छ।” उनका अनुसार राष्ट्रपति र उनको टोलीले यो लक्ष्य हासिल गर्न सबै सम्भावित विकल्पहरूबारे छलफल गरिरहेको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकाल समाप्त हुनु अघि नै यो विषय टुंग्याउन चाहेको बताइएको छ। यस विषयमा वाशिङ्टनस्थित डेनिस दूतावासले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेनमार्कको राज्यमण्डलअन्तर्गत रहेको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्यान्ड पछिल्ला दिनहरूमा पुनः अन्तर्राष्ट्रिय बहसको केन्द्र बनेको छ। ह्वाइट हाउसका उप–मुख्य कर्मचारी स्टिफन मिलरले सोमबार सीएनएनसँग ग्रीनल्यान्ड अमेरिकाको हिस्सा हुनुपर्छ भन्ने अमेरिकी सरकारको “औपचारिक धारणा” रहेको बताएका थिए। यसअघि राष्ट्रपति ट्रम्पले पनि अमेरिकालाई ग्रीनल्यान्ड आवश्यक रहेको अभिव्यक्ति दिएका थिए।

डेनमार्कले भने अमेरिकाको यस चासोलाई पुनः अस्वीकार गरेको छ। डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले ग्रीनल्यान्डमाथि अमेरिकी सैन्य हस्तक्षेप भएमा त्यो नाटो सैन्य गठबन्धनको अन्त्यसरह हुने चेतावनी दिएकी छन्। डेनमार्क नाटोको सदस्य हो । नाटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भएमा सबै सदस्यहरूले त्यसलाई साझा आक्रमणका रूपमा लिने व्यवस्था छ।

“यदि अमेरिकाले अर्को नाटो सदस्य देशमाथि सैन्य आक्रमण गर्छ भने, त्यसपछि नाटोको अस्तित्व नै अर्थहीन हुन्छ ।” फ्रेडरिक्सेनले सञ्चारमाध्यमसँग भनिन्।

राष्ट्रपति ट्रम्पले ग्रीनल्यान्ड राष्ट्रिय सुरक्षाका लागि अत्यन्तै महत्वपूर्ण रहेको दाबी गर्दै आएका छन् । यद्यपि, अमेरिकाको त्यहाँ पहिले नै एक सैन्य आधार सञ्चालनमा रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com