राष्ट्रपति ट्रम्पले भने – ‘अमेरिका भेनेजुएलासँग युद्धमा छैन, तत्काल निर्वाचन हुँदैन’


प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार

फ्लोरिडाको पाम बीचमा रहेको आफ्नो मार-ए-लागो निवासबाट वाशिंगटन डीसी फर्कने क्रममा जनवरी ४ मा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : जिम वाटसन/एएफपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आगामी ३० दिनभित्र कुनै पनि नयाँ निर्वाचन नहुने स्पष्ट पारेका छन्। सोमबार एनबीसी न्युजसँगको अन्तर्वार्तामा उनले देशलाई पहिले ‘ठिक अवस्थामा फर्काउनुपर्ने’ भन्दै तत्काल निर्वाचन सम्भव नरहेको बताएका हुन्। अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो दम्पतीलाई नियन्त्रणमा लिएको दुई दिनपछि ट्रम्पले यो अभिव्यक्ति दिएका हुन् ।

“पहिले देशलाई ठिक गर्नुपर्छ। अहिले निर्वाचन गर्न सकिँदैन। जनताले मतदान गर्न सक्ने अवस्था नै छैन,” ट्रम्पले भने। उनले भेनेजुएलामा स्थायित्व फर्किन केही समय लाग्ने बताउँदै देशलाई पुनः स्वस्थ अवस्थामा पुर्‍याउन दीर्घकालीन प्रयास आवश्यक रहेको जिकिर गरे ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाको ध्वस्त ऊर्जा पूर्वाधार पुनर्निर्माणका लागि तेल कम्पनीहरूलाई अघि सार्ने र त्यसमा अमेरिकी सरकारले अनुदान दिन सक्ने संकेत पनि गरेका छन्। उनका अनुसार यो परियोजना १८ महिनाभन्दा कम समयमै सम्पन्न हुन सक्छ।

“धेरै ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ ।” – ट्रम्पले भने, “तेल कम्पनीहरूले लगानी गर्नेछन् । पछि हामीले वा आम्दानीमार्फत उनीहरूलाई भुक्तानी गरिनेछ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अन्तर्वार्तामा ट्रम्पले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको पनि दोहोर्‍याए।

“हामी युद्धमा छैनौं,” उनले भने – “हामी लागुऔषध तस्करी गर्नेहरू, जेलका कैदीहरू, लागुऔषधका लतमा परेका र मानसिक संस्थानका मानिसहरूलाई हाम्रो देशतर्फ पठाउनेहरूसँग युद्धमा छौं।”

ट्रम्पले भेनेजुएलामा अमेरिकाको संलग्नता व्यवस्थापन गर्न उच्चस्तरीय अमेरिकी अधिकारीहरूको टोली गठन गरिएको जानकारी पनि दिए। उक्त टोलीमा विदेशमन्त्री मार्को रुबियो, युद्ध मन्त्री पीट हेगसेथ, ह्वाइट हाउसका उप–प्रमुख स्टाफ स्टेफन मिलर र उपराष्ट्रपति जेडी भान्स रहेका छन्।

“सबैसँग फरक–फरक प्रकारको विशेषज्ञता छ,” ट्रम्पले भने। तर, अन्ततः निर्णय कसको हातमा हुन्छ भन्ने प्रश्नमा उनले एक शब्दमै उत्तर दिए – “म।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com