भेनेजुएलामा अमेरिकी कारबाहीपछि विश्व कम सुरक्षित : मानवअधिकार उच्चायुक्तको कार्यालय
प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार
अमेरिकाले भेनेजुएलामा गरेको कारबाहीपछि न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक । तस्वीर : सिन्ह्वा/रासस
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले भेनेजुएलामा अमेरिकाले गरेको सैन्य हस्तक्षेप अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको भन्दै कडा आलोचना गरेको छ। मंगलबार जारी विज्ञप्तिमा उक्त हस्तक्षेपले विश्व सुरक्षा झनै कमजोर बनाउने उल्लेख गरिएको छ।
हालै गरिएको अप्रत्याशित सैन्य कारबाहीमार्फत अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएको दाबी गरिएको छ। मादुरोमाथि अमेरिकामा नार्को–आतङ्कवादसहित चार वटा आपराधिक अभियोग लगाइएको बताइएको छ। यसपछि भेनेजुएलाका उपराष्ट्रपतिले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन्।
संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले उक्त कारबाहीले अन्तर्राष्ट्रिय कानुनको आधारभूत सिद्धान्त (कुनै पनि देशले अर्को देशको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध बल प्रयोग गर्न नहुने) लाई कमजोर पारेको स्पष्ट पारेको छ।
कार्यालयकी प्रमुख प्रवक्ता रविना शम्दासानीले पत्रकारहरूसँग कुरा गर्दै यस विषयमा अन्तर्राष्ट्रिय समुदाय एकजुट भएर बोल्नुपर्ने आवश्यकता औँल्याइन्। “यो मानवअधिकारको जित होइन, बरु यसले अन्तर्राष्ट्रिय सुरक्षा संरचनालाई क्षति पुर्याउँछ । सबै देशलाई कम सुरक्षित बनाउँछ,” उनले भनिन्।
उनले शक्तिशाली राष्ट्रहरूले मनलाग्दी गर्न सक्छन् भन्ने खतरनाक सन्देश जाने चेतावनी पनि दिइन्।
संयुक्त राष्ट्र संघका अनुसार भेनेजुएलाको भविष्य त्यहाँका जनताले मात्र तय गर्नुपर्छ। अस्थिरता र थप सैन्यीकरणले देशको मानवअधिकार अवस्था झन् खराब बनाउने कार्यालयको निष्कर्ष छ।





