भोलिदेखि अमेरिकामा सबै आप्रवासीका सामाजिक सञ्जाल चेक गरेर रेकर्ड राखिने


प्रकाशित मिति : कार्तिक १, २०७४ बुधबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा सबै आप्रवासीहरुका सामाजिक सञ्जालहरु जाँचबुझ गरेर त्यसबारेका सुचनाहरु संकलन गरेर राख्ने नयाँ नीति ल्याउन लागेको छ । अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेकाहरु र नागरिकता प्राप्त गरेकाहरु लगायत सबै आप्रवासीका सामाजिक सञ्जालका सुचनाहरु संकलन गर्ने नयाँ नीति फेडरल रजिष्टरमा प्रकाशन गरिएको छ । यो नयाँ नीति आगामी अक्टोबर १८ बाट लागु हुनेछ ।

नयाँ नीति अनुशार सबै आप्रवासीका सामाजिक सञ्जालहरु, उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका अन्य खोजी परिणामहरु समेत संकलन गरिने भएको छ । नयाँ नियम अनुशार आप्रवासीहरुसँग सामाजिक सञ्जालको प्रयोग गरेर कुराकानी गर्ने अमेरिकी नागरिकहरु सरकारी निगरानीमा पर्न सक्ने जनाइएको छ ।

गोपनियता ऐन १९७४ अनुशार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले वर्तमान रेकर्ड प्रणालीमा सुधारको प्रस्ताव गरेको हो । अमेरिकी सरकारसँग आप्रवासीको एलियन फाइल अर्थात् ए फाइल हुनेगर्छ । यो फाइल राख्ने प्रणाली सन् १९४४ को अप्रिल १ बाट सुरु गरिएको हो । यसअगाडि अमेरिकी निकायसँग व्यक्तिका एकभन्दा धेरै फाइलहरु हुने गर्थे । अमेरिकी सरकारले अध्यागमन फाइललाई सजिलो र चुस्त दुरुस्त राख्न आप्रवासीलाई एलियन नम्बर समेत दिने गरेको छ ।

यो फाइलमा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले व्यक्तिका लाभको निर्णय, अध्यागमन उल्लंघनबारेको अनुसन्धान, कारवाही लगायतका विवरणहरु राख्दै आएको छ । अब यो फाइलमा व्यक्तिका सामाजिक सञ्जालहरु, उपनामहरु, सम्बन्धित पहिचान योग्य जानकारीहरु र इन्टरनेटमा खोजी गरिएका अन्य खोजी परिणामहरु समेत संकलन गरेर राख्ने तयारी गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com