राष्ट्रिय सर्वेक्षण प्रतिवेदन: अमेरिकामा ‘आइस’ को डरले आप्रवासीहरूको दैनिक जीवनमा गहिरो असर, आन्तरिक र बाह्य यात्रा कटौती


प्रकाशित मिति : २० पुस २०८२, आइतबार

अमेरिकामा आप्रवासीहरूको दैनिक जीवनमा गहिरो असर परेको एउटा अध्ययनले देखाएको छ। देशभर गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार आप्रवासन कार्यान्वयन अधिकारीहरू (आइस) प्रतिको त्रासका कारण आप्रवासीहरूको दैनिकी प्रभावित भएको हो।

सर्वेक्षणअनुसार करिब २७ प्रतिशत आप्रवासीले आप्रवासन अधिकारीहरूसँग हुन सक्ने सम्भावित मुठभेड वा जोखिम कम गर्न देशभित्र वा विदेशतर्फको यात्रा टारेका छन्। यो सर्वेक्षण सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म ‘काइजर फ्यामिली फाउन्डेसन’ ले ‘द न्युयोर्क टाइम्स’ सँगको सहकार्यमा गरेको हो।

प्रतिवेदनले १० मध्ये ३ जना आप्रवासीले आप्रवासन अधिकारीहरूको सामना गर्नुपर्ने डरले आफ्ना यात्रा योजनाहरू परिवर्तन वा रद्द गरेको देखाएको छ। यो डर कागजातविहीन आप्रवासीहरूमा मात्र सीमित छैन। वैध कानुनी हैसियतमा रहेका, यहाँसम्म कि एच-१ बी भिसावाहकहरू समेत जोखिम मोल्न चाहिरहेका छैनन्। केही अमेरिकी नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूले समेत हाललाई यात्रा नगर्ने निर्णय गरेको बताएका छन्।

एच-१ बी भिसावाहकहरूमध्ये करिब एक-तिहाइले आप्रवासनसम्बन्धी चिन्ताका कारण यात्रा नगरेको जानकारी दिएका छन्। सर्वेक्षणले हालैका नीतिगत परिवर्तनहरूको प्रभावलाई पनि उजागर गरेको छ। जुलाई महिनामा अमेरिकी विदेश मन्त्रालयले एच-१ बी र एच-४ भिसाका लागि तेस्रो मुलुकबाट गरिने नवीकरण प्रक्रिया अन्त्य गर्दै आवेदकहरूलाई आफ्नै मुलुक फर्केर प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था लागू गरेको थियो।

त्यसपछि सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ एच-१ बी आवेदनमा १ लाख अमेरिकी डलर शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए। प्रशासनले योसँगै सामाजिक सञ्जालको निगरानीलाई पनि विस्तार गरेको छ, जसमा भिसा जाँच प्रक्रियाका क्रममा आवेदकहरूको डिजिटल गतिविधिसमेत समीक्षा गरिन्छ।

यी कडा उपायहरूले विशेष गरी भारतस्थित अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूमा ठूलो चाप सिर्जना गरेका छन्। भिसा अन्तर्वार्ताका लागि समय (अपोइन्टमेन्ट) झण्डै एक वर्ष, कतिपय अवस्थामा त सन् २०२७ सम्म पछाडि धकेलिएका छन्। अन्तर्वार्ताका लागि स्वदेश फर्किएका सयौँ दक्ष कामदारहरू त्यहीँ अलपत्र परेका छन्, जसका कारण उनीहरू अमेरिकामा रहेका आफ्नो जागिर र परिवारबाट अलग हुनुपरेको छ।

यात्रासम्बन्धी यो चिन्ता केवल वैध कागजात भएकाहरूमा मात्र सीमित छैन; करिब दुई-तिहाइ कागजातविहीन आप्रवासीहरूले अमेरिकाभित्र र बाहिर दुवै प्रकारका यात्रा टारेको बताएका छन्। अमेरिकी यातायात सुरक्षा प्रशासन (टीएसए) ले यात्रुहरूको सूचीसहितको जानकारी आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आइस) सँग साझा गरेको रिपोर्ट सार्वजनिक भएपछि यो डर झन् बढेको अध्ययनले देखाएको छ।

विमानस्थल, सीमा र अन्य यात्रा केन्द्रहरूमा कडाइ गरिएकाले धेरै आप्रवासीहरू ‘आइस’ को नजरबाट टाढा रहने प्रयास गरिरहेका छन्। यद्यपि, सर्वेक्षणमा सहभागी अधिकांश आप्रवासीहरूले अवसर पाएमा फेरि पनि अमेरिकामै बस्न रोज्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो अध्ययन हाल अमेरिकामा बसोबास गरिरहेका १,८०५ जना आप्रवासी वयस्कहरूमाझ गरिएको सर्वेक्षणमा आधारित छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएपछि कागजातविहीन आप्रवासीहरूविरुद्ध प्रशासन झन् कठोर बन्दै गएको देखिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com