आप्रवासीलाई पक्राउबाट जोगाएको अभियोगमा दोषी ठहरपछि अमेरिकी न्यायाधीशले दिइन् राजीनामा


प्रकाशित मिति : पुस १९, २०८२ आईतबार

सन् २०२५ को अप्रिलमा एफबीआई एजेन्टहरूद्वारा गिरफ्तारीमा परेकी डुगन । तस्वीर स्रोत : एफबीआई निर्देशक काश पटेल

अमेरिकाको विस्कन्सिन राज्यकी एक न्यायाधीशले आप्रवासन पक्राउबाट एक आप्रवासीलाई जोगाउन सहयोग गरेको अभियोगमा दोषी ठहर भएपछि आफ्नो पदबाट राजीनामा दिएकी छन्। सञ्चारमाध्यमका अनुसार मिलवाकी काउन्टी सर्किट अदालतकी निर्वाचित न्यायाधीश हाना डुगनले शनिबार औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।

गत महिना उनलाई अदालतको कारबाहीमा अवरोध गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। अभियोजकहरूका अनुसार डुगनले घरेलु हिंसासम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुन आएका मेक्सिकन आप्रवासी एडुआर्डो फ्लोरेस–रुइजलाई आप्रवासन अधिकारीहरूबाट बच्न सहयोग गर्ने प्रयास गरेकी थिइन्।

दोषी ठहरपछि रिपब्लिकन बहुमत रहेको विस्कन्सिन राज्य विधानसभाले उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने चेतावनी दिएको थियो। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति कार्यान्वयनका क्रममा भएको हो, जहाँ अदालतहरूमा हुने हस्तक्षेपलाई निरुत्साहित गर्ने नीति लिइएको छ।

डुगनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएकी थिइन्। उनका वकिलहरूका अनुसार उनले अदालतमा आइसको उपस्थितिबारे वरिष्ठ अधिकारीलाई जानकारी गराउने आन्तरिक नीतिको पालना मात्र गरेकी थिइन्। तर, मुद्दा विचाराधीन रहँदा विस्कन्सिनको सर्वोच्च अदालतले उनलाई न्यायिक जिम्मेवारीबाट निलम्बन गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले यो घटनालाई उच्च पदमा रहेका सार्वजनिक अधिकारीहरूमाथि पनि कानुनी कारबाही गर्न सरकार तयार रहेको उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

सन् २०१६ मा पहिलो पटक काउन्टी न्यायाधीशमा निर्वाचित डुगन यसअघि क्याथोलिक च्यारिटीज संस्थाको स्थानीय शाखाको प्रमुखका रूपमा कार्यरत थिइन्, जहाँ उनले शरणार्थी पुनर्वास कार्यक्रमलगायत सामाजिक सेवाहरूको नेतृत्व गरेकी थिइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com