भेनेजुएलामा आक्रमणपछि अमेरिकाले हटायो क्यारिबियन हवाई क्षेत्रमा लगाइएको प्रतिबन्ध


प्रकाशित मिति : पुस १९, २०८२ आईतबार

सांकेतिक तस्वीर । स्रोत : अनस्प्लास

अमेरिकाले क्यारिबियन क्षेत्रमाथि लगाइएको हवाई प्रतिबन्ध शनिबार मध्यरातदेखि हटाएको छ। प्रतिबन्ध हटेसँगै प्रमुख एयरलाइन्सहरूले क्यारिबियनतर्फका उडानहरू पुनः सुरु गर्ने तयारी गरेका छन्।

अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार, पूर्वी समयअनुसार मध्यरातदेखि प्रतिबन्धको म्याद समाप्त भएको हो । यसअघि अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गरेपछि सुरक्षा कारण देखाउँदै क्यारिबियन हवाई क्षेत्र बन्द गरिएको थियो, जसका कारण सयौँ उडानहरू रद्द भएका थिए।

युनाइटेड एयरलाइन्स, अमेरिकन एयरलाइन्स, डेल्टा र स्पिरिट एयरलाइन्सले आइतबारदेखि क्यारिबियन गन्तव्यतर्फ उडान पुनः सुरु गर्ने जनाएका छन्। युनाइटेडले शनिबार राति नै प्युर्टो रिकोको सान जुआनतर्फ उडान सञ्चालन गर्ने तयारी गरेको थियो ।

डेल्टा एयर लाइन्सले आइतबार क्यारिबियनका लागि सामान्य तालिकाअनुसार उडान गर्ने अपेक्षा गरिएको बताएको छ। अमेरिकन एयरलाइन्सले पूर्वी क्यारिबियन हवाई क्षेत्र पुनः खुल्ने अनुमान गर्दै थप ३,७०० भन्दा बढी सिट थपेको जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफएएको आदेशअनुसार यसअघि जेटब्लु एयरवेजले मात्र २१५ उडान रद्द गरेको थियो। कम्पनीले आइतबारदेखि सामान्य सञ्चालनमा फर्किने बताएको छ।

यद्यपि प्रतिबन्ध हटेपछि पनि सम्पूर्ण उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही दिन लाग्ने विमान विश्लेषकहरूले बताएका छन्। क्यारिबियन क्षेत्रमा धेरै यात्रुहरू अलपत्र परेकाले व्यवस्थापन चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ।

एफएएले जारी गरेको सूचनामा जारी सैन्य गतिविधिका कारण उडान सुरक्षामा जोखिम देखिएकाले अस्थायी रूपमा हवाई क्षेत्र बन्द गरिएको उल्लेख गरिएको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com