अदालतमा सुनुवाइमा नजाँदा देशनिकालाको आदेश, ६ सयभन्दा बढी नेपालीका मुद्दा वकिलविहीन
प्रकाशित मिति : पुस १९, २०८२ आईतबार
सुनुवाइको दिन अध्यागमन अदालतमा उपस्थित नभए अदालतले त्यस्ता व्यक्तिलाई देशनिकालाको आदेश जारी गर्ने सम्भावना उच्च रहने चेतावनी अध्यागमन न्यायाधीशहरूले दिएका छन्। तर पनि अमेरिकामा अध्यागमन र भन्सार प्रवर्तन निकाय (आइस) प्रति डर वा सूचना नपाएका कारण अदालतमा हाजिर नहुनेको संख्या उल्लेखनीय रहेको छ।
कतिपय आप्रवासीहरूले अन्तिम अध्यागमन सूचना हुलाकमा हराएको दाबी गरेका छन्। न्यायाधीशहरूले मिति अघि नियमित रूपमा आफ्नो मेलबक्स जाँच गर्न निर्देशन दिने गरेका छन्। आइसले अदालतमा उपस्थित नभएकाहरूमाथि देशनिकालाका लागि निवेदन दर्ता गर्ने गरेको छ, र न्यायाधीशहरूले प्रायः ती निवेदन स्वीकृत गर्ने गरेका छन्। फलस्वरूप, ती व्यक्तिहरूलाई देशनिकाला गर्न सकिने अवस्था सिर्जना भएको छ।
अध्यागमन वकिलहरू र अदालतका तथ्याङ्क विश्लेषण अनुसार, विगत एक वर्षदेखि देशभरका लगभग सबै अध्यागमन अदालतमा यस्ता घटनाहरू बढ्दो देखिएका छन्। धेरै आप्रवासीहरू अनिवार्य सुनुवाइमा अनुपस्थित हुँदा सरकारले उनीहरूलाई तुरुन्त देशनिकालाको आदेश जारी गर्न सहज भएको छ। अदालतमा गएपछि आइसले पक्राउ गर्ने डर यसको मुख्य कारणका रूपमा देखिएको छ।
सन् २०२५ मा ट्रम्प प्रशासनले तोकेको गिरफ्तारी कोटा पूरा गर्न आइसले सिधै संघीय वा अध्यागमन अदालत परिसरमै गिरफ्तारी गर्न थालेको थियो। सन् २०२२ देखि नै अदालतमा अनुपस्थितिका कारण हुने देशनिकालाको संख्या बढ्दै आएको छ। आर्थिक वर्ष २०२५ मा यस्ता निष्कासन आदेशहरू अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढेर ५० हजार नाघेका छन्।
जनवरीदेखि नोभेम्बरसम्मको तथ्याङ्क अनुसार, सबैभन्दा धेरै अध्यागमन मुद्दा रहेका शीर्ष १० शहरहरूमा अनुपस्थितिमा हुने देशनिकालाको दर वर्षको अन्त्यसम्ममा झनै उच्च हुने देखिन्छ। यी अदालतहरूमा गर्मी यामदेखि नै यस्तो आदेशमा उल्लेखनीय वृद्धि देखिएको हो। यस अवधिमा अदालतभित्रै गिरफ्तारी सुरु भएको थियो। न्युयोर्कका अदालतहरू हिंसात्मक गिरफ्तारी र संघीय अधिकारीहरूसँगको मुठभेडका घटना बढेकै कारण कुख्यात बनेका छन्।
धेरै मानिसहरू मुद्दा हार्ने डर वा तेस्रो देशमा निर्वासन हुने सम्भावनाका कारण अदालतमा उपस्थित हुन डराउने गर्छन्। कतिपयलाई भने आफ्नो सुनुवाइ मिति नै थाहा नहुने अवस्था पनि हुन्छ। कहिलेकाहीँ हुलाकमा सूचना नपाईकन मिति परिवर्तन हुन सक्छ, वा आप्रवासीहरू डेरा सर्दा ठेगाना तुरुन्त अद्यावधिक नहुँदा सूचना गुम्ने सम्भावना रहन्छ। केही अपार्टमेन्ट भवनमा हुलाक सेवा पनि विश्वासिलो नहुने बताइन्छ।
आप्रवासीहरूलाई आफ्ना मुद्दा पुनः खोल्ने अवसर हुन सक्छ, तर धेरैका लागि यो कानुनी रूपमा जटिल प्रक्रिया हुन्छ। अध्यागमन अदालतमा अझै पनि दर्जनौँ मानिस वकिल बिना सुनुवाइमा उपस्थित हुन्छन्। अहिले अमेरिकी अध्यागमन अदालतमा करिब १० हजार नेपालीका मुद्दा विचाराधीन रहेका छन्, जसमा ६ सयभन्दा बढी मुद्दामा वकिलको प्रतिनिधित्व छैन। वकिल नभएका मुद्दाका एसाइलम आवेदकले मुद्दा हार्ने सम्भावना उल्लेखनीय रूपमा उच्च रहेको देखिन्छ।





